झापा । पूर्वी नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् राजेश शर्माले ताप्लेजुङको ओलाङचुङ गोला नजिकै तिब्बतसँग जोडिएको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
यता, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्प भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटरको दूरीमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर गएको उल्लेख गरेको छ ।
