भद्रपुर, झापा। झापाको भद्रपुरस्थित ऐतिहासिक धार्मिक र पर्यटकीय स्थल, कीचकबध क्षेत्रमा आगामी बैशाख ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत महापुराण धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।
यस महायज्ञको आयोजना भद्रपुर नगरपालिका–३ स्थित मातातीर्थ र विष्णुपादुका मन्दिर परिसरमा हुनेछ। महायज्ञको उद्घाटन बैशाख ६ गते मन्दिरमा हुने बताइएको छ, र त्यसपछिका दिनहरूमा नियमित रूपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिनेछ।
मन्दिर समितिका अध्यक्ष हेमप्रसाद खनालका अनुसार, महायज्ञ अवधिभर विभिन्न धार्मिक कार्यक्रमहरू जस्तै पूजा पाठ, कथा प्रवचन, भजन कीर्तन र सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछन्। श्रीमद्भागवत महापुराणको मूलपाठ पण्डित पदम पौड्याल ज्युको मुखारबिन्दबाट पारायण गरिनेछ, र पण्डित उदय खनाल शास्त्री ज्युले भागवत कथा वाचन र आध्यात्मिक प्रवचन प्रस्तुत गर्नेछन्।
यो महायज्ञ विशेष रूपमा मन्दिरको अक्षयकोष र निर्माणाधीन भवनको पूर्णतासम्मको लागि आयोजना गरिएको हो। मन्दिर समितिका उपाध्यक्ष तारा सुबेदीले मन्दिर स्थापना २०७४ सालमा भएको र विशेषत: पितृ उद्दारका लागि यस मन्दिरको निर्माण गरिएको जानकारी दिइन्।
यस महायज्ञमार्फत सङ्कलित रकमबाट मन्दिरको अधुरो भवन पूरा गर्ने र अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने योजना रहेको छ। स्थानीय धार्मिक र पर्यटन प्रवर्द्धनमा पनि यस आयोजनाले ठुलो योगदान पुर्याउने विश्वास गरिएको छ।


