हल्दिबारी ,झापा । हल्दीबारी गाउँपालिकाले लक्षित वर्गको आयआर्जन तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न प्रविधि तथा सामग्री हस्तान्तरण गरेको छ।

गाउँपालिकाको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा दलित, आदिवासी जनजाति, लोपोन्मुख जातिका विद्यार्थी, दलित समुदायका लाभग्राही तथा अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत दलित, आदिवासी जनजाति तथा लोपोन्मुख जाति अन्तर्गत कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने १४ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको छ। साइकल वितरणको कुल लागत १ लाख ९६ हजार रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, परम्परागत पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यले दलित वर्गका ७ जना लाभग्राहीलाई १ लाख १२ हजार रुपैयाँ बराबरको आरनसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।
यसैगरी, सीपमूलक तालिम लिएर व्यवसाय सञ्चालन गर्दै आएका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारका ८ जना लाभग्राहीलाई व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सामग्री प्रदान गरिएको छ। उनीहरूलाई ३ वटा ठेला, ८ वटा सिलाई मेसिन, २ वटा डिजिटल काँटा र १५ वटा साबुन बनाउने फर्मा हस्तान्तरण गरिएको हो। यस कार्यक्रमका लागि कुल ३ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल गजमेर प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोपाल गजमेर, पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) र वडा नं २ का वडाध्यक्ष सुकलाल राजवंशी लगायतले मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा वक्ताहरूले लक्षित वर्गलाई आत्मनिर्भर बनाउन सीप, प्रविधि र सामग्री उपलब्ध गराउने यस्ता प्रयासले उनीहरूको आयआर्जन र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। गाउँपालिकाले आगामी दिनमा पनि लक्षित समुदायको आर्थिक तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू रुपा रसाइली, सुस्मा महरा, भगिरथा दाहाल लगायत जनप्रतिनिधि, कर्मचारी, लाभग्राही तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
योजना तथा सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए।
