समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बिर्तामोडमा आगलागी : तीन घर पूर्ण रूपमा नष्ट, तीन घरमा आंशिक क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पुरानो भद्रपुर रोडमा विद्युत् सर्ट भई भीषण आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

Advertisement

​बुधबार बिहान करिब ४:१५ बजे स्थानीय गणेश पोखरेलको काठको दुई तले घरबाट अचानक सुरु भएको आगो नजिकैका अन्य घरहरूमा समेत फैलिएको थियो। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमान्डमा १० जना र शनिश्चरे बेस क्याम्पबाट प्रहरी सहायक निरीक्षक सोबित श्रेष्ठको कमान्डमा प्रहरी टोली खटिएको थियो।

Advertisement

​बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकलका साथै प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ५:४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

​आगलागीबाट गणेश पोखरेलको दुई तले काठको घर, तारा अर्याल र सुन्दर राजवंशीको एक–एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, भरत पोखरेलको एक तले घर र सारदा राजवंशीको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ भने दिपेन्द्र कुमार वलीको दुई तले पक्की घरको दोस्रो तलाको झ्यालमा सामान्य क्षति पुगेको छ।

​प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भएको छैन। विद्युत् सर्ट भएर सुरु भएको उक्त आगलागीबाट भएको कुल आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article