भद्रपुर (झापा) — झापाका प्रशासनिक निकायबाट गत आर्थिक वर्ष २०८२/८३ मा बाबुको पहिचान हुन नसकेका ३ सय ७८ जनाले आमाका नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन्। कानुनी प्रावधानअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई नागरिकता प्रदान गरिएको हो।

गत आवमा जिल्ला प्रशासन कार्यालय भद्रपुरका साथै इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट गरी कुल २४ हजार ८ सय ५१ जनाले नागरिकता प्राप्त गरेका छन्। सोही अवधिमा २४ हजार ४ सय ६६ जनालाई राहदानी वितरण गरिएको छ। नागरिकता लिने र राहदानी बनाउनेको सङ्ख्या लगभग बराबरी हुनुले जिल्लाबाट वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने युवाको क्रम कायमै रहेको देखाउँछ।

गृह मन्त्रालयको अभियानअन्तर्गत जिल्लामा एक वर्षको अवधिमा ९७ हजार ४ सय ७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ भने ९८ हजार ६ सय ८९ थान कार्ड वितरण गरिएको छ। सेवा प्रवाहका क्रममा राहदानी शुल्कतर्फ १४ करोड ७० लाख ७९ हजार ४ सय ५१ रुपैयाँ र अन्य प्रशासनिक शुल्कतर्फ ६० लाख ४४ हजार ६० रुपैयाँ गरी कुल १५ करोड ३१ लाख २३ हजार ५ सय ११ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यसैगरी, मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी ४ सय ७९ वटा निवेदन फछ्र्योट हुनुका साथै ९ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको छ।
