समाचार
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

खाजाघरको आवरणमा किशोरीलाई अनैतिक कार्यमा लगाउने ४ महिला पक्राउ

कास्की ।पोखरा महानगरपालिका–१८ चिसाखोला क्षेत्रका विभिन्न खाजाघरहरूमा आर्थिक अवस्था कमजोर भएका बालिका तथा किशोरीहरूलाई प्रलोभनमा पारी अनैतिक कार्यमा लगाउने गरेको आरोपमा प्रहरीले चारजना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

​पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्। उनीहरूले खाजाघर सञ्चालनको आवरणमा आर्थिक रूपले विपन्न बालिकाहरूलाई विभिन्न प्रलोभन देखाएर यौनजन्य तथा अन्य अनैतिक गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

​जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका चारैजना महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरिएको छ। यसै सिलसिलामा जिल्ला अदालत कास्कीबाट शुक्रबार सात दिनको म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

​सोही अपरेसनका क्रममा प्रहरी टोलीले एक खाजाघरबाट एकजना बालिकाको सकुशल उद्धार समेत गरेको छ। समाजमा रोजगारीको खोजीमा रहेका र कमजोर आर्थिक अवस्था भएका किशोरीहरू यस्ता गिरोहको निशानामा पर्ने गरेको भन्दै प्रहरीले निगरानी तथा अनुसन्धानलाई थप तीव्र बनाएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article