बिचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

योग्यता र मापदण्डविनाको पत्रकारिता : समाजका लागि बढ्दो चुनौती

देव वाँस्कोटा

Advertisement

कुनै समय समाजको ‘ऐना’ र राज्यको ‘चौथो अङ्ग’ मानिने पत्रकारिता आज नेपालमा सबैभन्दा बढी संकट र चुनौतीको भुमरीमा परेको छ । बाहिरबाट हेर्दा जति आकर्षण र तामझाम देखिन्छ, भित्र पसेपछि यो क्षेत्र उत्तिकै चुनौतीपूर्ण, असुरक्षित र कतिपय अवस्थामा निराशाजनक पनि देखिन्छ ।

Advertisement

नेपालमा एउटा सरकारी कार्यालयको प्रमुख वा खरिदार बन्न पनि महिनौँसम्म रातदिन मिहिनेत गरी लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुपर्छ । डाक्टर, इन्जिनियर वा वकिल बन्न निश्चित शैक्षिक योग्यता हासिल गरी कठिन लाइसेन्स परीक्षा पास गर्नैपर्छ । तर विडम्बना ! राज्यको चौथो अङ्ग भनिने पत्रकारिता यस्तो पेशा बनेको छ, जहाँ प्रवेश गर्न न कुनै निश्चित योग्यता चाहिन्छ, न कुनै स्पष्ट मापदण्ड, न त कुनै परीक्षा नै । यही ‘जे गरे पनि हुन्छ’ भन्ने गलत भाष्य र जानी–नजानी पत्रकारितामा हाम फाल्ने प्रवृत्तिका कारण आज यो मर्यादित क्षेत्र मात्र बदनाम भएको छैन, समग्र समाज नै ठूलो दुर्घटनातर्फ धकेलिँदै गएको छ ।

अहिले बजारमा एउटा माइक, एउटा मोबाइल र फेसबुक पेज वा युट्युब च्यानल हुनेबित्तिकै आफूलाई ‘पत्रकार’ घोषणा गर्नेहरूको बाढी आएको छ । पत्रकारिताका न्यूनतम सिद्धान्तहरू—सन्तुलन, सत्यता, निष्पक्षता र मानवीय संवेदनशीलता—के हुन् भन्ने सामान्य ज्ञानसमेत नभएका मानिसहरू समाजमा ‘न्यायाधीश’ झैँ बनेर हिँडिरहेका छन् । योग्यता र मापदण्डविनाको यही भीडका कारण वास्तविक, अध्ययनशील र व्यावसायिक पत्रकारहरू ओझेलमा परेका छन् ।

जब जानी–नजानी मानिसहरू पत्रकारितामा आउँछन्, उनीहरूको मुख्य उद्देश्य सत्य उजागर गर्नु नभई ‘भ्युज’ र ‘लाइक्स’ कमाउनु वा कसैलाई तर्साएर व्यक्तिगत फाइदा लिनु हुने गरेको देखिन्छ। एउटा गम्भीर विषयमा समाचार लेख्दा वा भिडियो बनाउँदा त्यसले समाजमा कस्तो असर पार्छ भन्ने चेतना उनीहरूमा हुँदैन । कतिपय अवस्थामा व्यक्तिको मान–प्रतिष्ठामा आँच पु¥याउने, अनुमति नलिई कसैको भिडियो वा तस्बिर खिच्ने तथा समाजमा अफवाह फैलाउने काम यही ‘रहरको पत्रकारिता’ले गरिरहेको छ ।

वकिलले गल्ती गरे उसको लाइसेन्स खारेज हुन्छ, डाक्टरले लापरबाही गरे उसको मेडिकल काउन्सिलको दर्ता रद्द हुन सक्छ । तर पत्रकारितामा गम्भीर गल्ती गर्ने, चरित्रहत्या गर्ने वा समाजमा भ्रम फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउने बलियो संयन्त्र अझै प्रभावकारी बन्न सकेको छैन । प्रेस काउन्सिलको नियमनलाई समेत बेवास्ता गर्दै सामाजिक सञ्जालमा ‘पत्रकार’को मुकुन्डो लगाएर अराजकता फैलाउने काम भइरहेको छ ।

यदि तपाईंलाई पत्रकारिताको मूल्य, मान्यता, कानुन र आचारसंहिताको ज्ञान छैन भने रहरै–रहरमा वा हल्लाको भरमा यो क्षेत्रमा आउनु उपयुक्त हुँदैन । जानी–नजानी गरिने अन्य कामले व्यक्तिलाई मात्र क्षति पु¥याउन सक्छ, तर जानी–नजानी गरिने पत्रकारिताले सिङ्गो समाज र देशलाई नै गलत दिशातर्फ धकेल्न सक्छ ।

त्यसैले प्रक्रिया पूरा गरेर, आवश्यक योग्यता हासिल गरेर बरु अन्य कुनै पेशामा लाग्नु उचित होला, तर योग्यता र मापदण्डविना पत्रकारिता गर्नु अत्यन्त खतरनाक हुन सक्छ। अब राज्य र सञ्चारसम्बद्ध निकायहरूले पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि पनि लोकसेवा आयोग वा मेडिकल काउन्सिलजस्तै न्यूनतम योग्यता तथा व्यावसायिक परीक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । जसले मन लाग्यो उसैले पत्रकारिता गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म समाजले सही, तथ्यपरक र निष्पक्ष सूचना पाउने सम्भावना कमजोर नै रहने देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article