हेमन्त मैनाली

झापा। हल्दीबारी गाउँपालिकाको सिमाना हेरफेर तथा स्थानीय तहको वर्गीकरण पुनरावलोकनसम्बन्धी आयोजित सर्वदलीय छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको सभापतित्वमा भएको उक्त बैठकमा सहभागी जनप्रतिनिधि तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरूले हल्दीबारीलाई अन्य कुनै पनि स्थानीय तहसँग समायोजन नगर्ने र यसको भौगोलिक, ऐतिहासिक तथा प्रशासनिक पहिचान यथावत् राख्ने सर्वसम्मत निर्णय गरेका छन्।

छलफलले बढ्दो जनसंख्या र प्रशासनिक सुगमतालाई मध्यनजर गर्दै गाउँपालिकाको विद्यमान वडा संरचना विस्तार गर्ने प्रस्ताव पारित गरेको छ। जसअनुसार हाल रहेका ५ वटा वडामध्ये जनसंख्याको आधारमा वडा नम्बर १ र २ मा थप एक/एक वडा कायम गरी कुल ७ वडा बनाउन सम्बन्धित निकायसमक्ष औपचारिक पहल र माग गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले हल्दीबारीको छुट्टै पहिचान रहेकाले स्थानीयको भावना विपरीत कुनै पनि समायोजन स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। यस्तै, वडा अध्यक्षहरूको तर्फबाट वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले भौगोलिक र प्रशासनिक दृष्टिकोणले हल्दीबारीको वर्तमान स्वरूप नै उपयुक्त रहेको बताउनुभयो।
छलफलमा झापा क्षेत्र नम्बर ३ का सांसद प्रकाश पाठकको प्रतिनिधित्व गर्दै नवीन मैनाली, नेपाली कांग्रेसका गाउँ कमिटी सभापति गंगा प्रसाईं, नेकपा (एमाले) का अध्यक्ष त्रिलोचन सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष ओमराज राई, राप्रपाका उपाध्यक्ष पवन चम्लागाईं, नेपाल कम्युनिस्ट पार्टीका संयोजक खकेन राजवंशी तथा श्रम संस्कृति पार्टीका अध्यक्ष सुमन नेमाङ लगायतले पालिकाको स्वतन्त्र अस्तित्व जोगाउन पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले स्वागत तथा सहजीकरण गर्नुभएको थियो।
