
झाप। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई म्याद थप नगरी रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत भक्तपुरका न्यायाधीश नवराज दाहालको इजलासले प्रहरीको म्याद थपको निवेदन अस्वीकार गर्दै प्रसाईंलाई रिहा गर्ने फैसला सुनाएको हो।

अदालतका तहसिलदार दलबहादुर बजिमयँका अनुसार प्रहरीले प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन म्याद थपको माग गरेको थियो। तर, अदालतले प्रहरीको उक्त दाबीलाई अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको छ।
प्रसाईंलाई आइतबार राति भक्तपुरको ठिमीस्थित उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि सामाजिक सद्भाव भड्काउने किसिमको गतिविधि र अभिव्यक्ति दिएको आरोप प्रहरीले लगाएको थियो।
आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि कडा आन्दोलन चर्काउने घोषणा गरेका थिए।
