झापा। झापाको कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल नेतृत्वको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अवलोकन तथा निरीक्षण भ्रमण गरेको छ। हल्दीबारीले अपनाएका असल अभ्यास, स्वास्थ्य गतिविधि तथा समग्र सेवा प्रवाहबारे जानकारी लिने उद्देश्यले सो टोली हल्दीबारी पुगेको हो।

भ्रमणका क्रममा टोलीले हल्दीबारी गाउँपालिकाद्वारा सञ्चालित १५ शय्याको आधारभूत अस्पताल, पशु अस्पताल तथा गाउँपालिकाका सम्पूर्ण शाखाहरूको प्रत्यक्ष निरीक्षण तथा अध्ययन गरेको छ।

कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, लेखा शाखा प्रमुख तथा अस्पताल प्रमुखसहित पुगेको टोलीलाई हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले पालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेका प्रगति, अपनाएका नवप्रवर्तन र असल अभ्यासहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।
विशेष गरी कचनकवलमा सञ्चालित आधारभूत अस्पतालको सेवामा कसरी सुधार ल्याउने र जनअपेक्षा अनुसार प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा हल्दीबारीको मोडल हेर्न टोली आइपुगेको कचनकवलका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले बताउनुभयो। टोलीले अस्पताल सञ्चालन व्यवस्थापन र पशु अस्पतालको कार्यशैलीबारे विशेष चासो राखेको थियो।
भ्रमणका क्रममा प्रमुख पोख्रेल नेतृत्वको टोलीले हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीकहाँ पुगी पालिकाले कार्य सम्पादनका क्रममा अपनाएका नीति, योजना र प्रशासनिक प्रक्रियाबारे समेत छलफल गरेको थियो।

गाउँपालिकाका विभिन्न शाखाहरूको अवलोकनका साथै हल्दीबारीले पुर्याइरहेका सेवाहरूबारे राय-सुझाव आदानप्रदान गरिएको हल्दीबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो।
छिमेकी गाउँपालिकाहरूबीच यसरी सुरु भएको अनुभव आदानप्रदान र अवलोकन भ्रमणले कचनकवल गाउँपालिकामा आगामी दिनमा स्वास्थ्य र पशु सेवा प्रवाह थप चुस्त तथा जनमुखी हुने अपेक्षा गरिएको छ।
