झापा । नेपाल र भारतबिच नागरिकको आवतजावतलाई थप सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ नेपाल सरकारले अघि सारेको नयाँ प्रस्तावमा भारतले चासो देखाएको छ। नेपालले आफ्नो डिजिटल तथा जैविक (बायोमेट्रिक) विवरणयुक्त राष्ट्रिय परिचयपत्रलाई भारत भ्रमणका लागि वैध पहिचान पत्रका रूपमा स्वीकार गर्न भारतसँग औपचारिक अनुरोध गरेको हो।

नेपालको अध्यागमन विभागका अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई औपचारिक प्रस्ताव पठाइएको छ। उक्त प्रस्ताव प्राप्त भएपछि काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले नेपालको अध्यागमन विभागका अधिकारीहरूसँग भेटघाट गरी राष्ट्रिय परिचयपत्रको प्राविधिक ढाँचा, डाटा सुरक्षा तथा प्रविधिसम्बन्धी विवरणहरूबारे जानकारी लिएका छन्।

हालसम्म नेपाली नागरिकहरूले भारत यात्रा गर्दा मुख्य रूपमा राहदानी (पासपोर्ट) वा कागजी नागरिकता प्रमाण पत्र प्रस्तुत गर्दै आएका छन्। तर, परम्परागत नागरिकताको तुलनामा राष्ट्रिय परिचयपत्रमा औँठाछाप, अनुहारको तस्बिर र आँखाको नानीको जैविक विवरण समावेश हुने भएकाले यो बढी सुरक्षित र प्रविधिमैत्री रहेको नेपालको तर्क छ।
हाल नेपालमा ४५ लाखभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका छन् भने करिब २ करोड मानिसले यसका लागि विवरण दर्ता गराइसकेका छन्। भारत सरकारले यस कार्डलाई यात्रा दस्तावेजका रूपमा मान्यता दिएमा दुई देशबिचको खुला सीमा व्यवस्था अझ पारदर्शी, सुरक्षित र यात्रुहरूका लागि सुविधाजनक हुने विश्वास लिइएको छ।
