हल्दिबारी । झापासहित देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा सर्वसाधारण उपभोक्ता सास्ती खेप्न बाध्य भएका छन्। पछिल्ला केही दिनयता बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन नसकेपछि उपभोक्ता खाली सिलिन्डर बोकेर डिलर तथा डिपोहरूमा धाउन थालेका छन्।

मागअनुसार आपूर्ति नहुँदा खाली सिलिन्डर र पैसा बुझाएपछि पनि सातादेखि १० दिनसम्म पर्खनुपर्ने अवस्था सिर्जना भएको उपभोक्ताहरूको गुनासो छ। ग्यास अभावका कारण घरपरिवारदेखि होटल व्यवसायसम्म नराम्ररी प्रभावित भएका छन् भने कतिपय सर्वसाधारण दाउरा बालेर खाना पकाउन बाध्य छन्। ग्यास नपाउँदा विशेष गरी होटल व्यवसायी र डेरामा बस्ने विद्यार्थी तथा मजदुरहरू सबैभन्दा बढी मारमा परेका छन्।

झापाका मुख्य सहरी क्षेत्र बिर्तामोड, दमक, भद्रपुर, काँकडभिट्टा, र सुरुङ्गालगायतका स्थानमा ग्यासको चर्को अभाव देखिएको छ। बिहानैदेखि डिपोमा लाइन बसे पनि ग्यास पाउन नसकेको स्थानीयको भनाइ छ।
बिर्तामोड–४ का ग्यास डिलर व्यवसायी बब्लु शाह ग्यास उद्योगबाटै पर्याप्त परिमाणमा आपूर्ति नभएकाले वितरण प्रणाली प्रभावित भएको बताउँछन्। “दैनिक ४० देखि ५० जना ग्राहक ग्यास खोज्दै आउँछन्, तर उद्योगबाट कहिले ग्यास आउँछ भन्ने पूर्वसूचना हुँदैन। त्यसैले ग्राहकलाई निश्चित जवाफ दिन पनि कठिन भइरहेको छ,” उनले भने।
उद्योगबाटै अनियमित रूपमा ग्यास आपूर्ति हुँदा माग धान्न नसकिएको र अधिकांश डिलरहरूमा मौज्दात सकिएको व्यवसायीहरूको भनाइ छ।
झापामा मात्र नभई काठमाडौं उपत्यका, मोरङ, सुनसरीसहित देशका अन्य विभिन्न जिल्लाहरूबाट पनि ग्यास अभावका खबरहरू आइरहेका छन्। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, आपूर्ति सहज बनाउन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ताहरूले सरकारसँग माग गरेका छन्।
यता, सम्बन्धित निकायले भने आपूर्ति व्यवस्थापनलाई शीघ्र सहज बनाउनेतर्फ पहल भइरहेको जनाएको छ।
