समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

मेची भन्सारको राजस्व सङ्कलन ९३.३० प्रतिशत, चार वर्षयता निरन्तर सुधार

Advertisement

झापा, २२ साउन । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्क हेर्दा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट निरन्तर उकालो लाग्दै ९३.३० प्रतिशत पुगेको हो।

Advertisement

​कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब एक अर्ब ७४ करोड ६० लाख रुपैयाँ बढी हो।

​यसअघि आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ लक्ष्य रहेकामा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ अर्थात् लक्ष्यको ९१.८६ प्रतिशत राजस्व उठेको थियो।

​त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ लक्ष्य राखिएकामा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ (७८.४० प्रतिशत) र आर्थिक वर्ष २०७९/८० मा २० अर्ब २४ करोड १८ लाख ३८ हजार रुपैयाँ लक्ष्य रहेकामा १४ अर्ब चार करोड ५९ लाख २० हजार रुपैयाँ (७०.२१ प्रतिशत) राजस्व सङ्कलन भएको थियो। वार्षिक लक्ष्यमा केही उतारचढाव देखिए पनि वास्तविक राजस्व सङ्कलन भने निरन्तर बढ्दै गएको छ।

​वि.सं. २०१३ मा स्थापना भएको यो कार्यालय पूर्वी नेपालको प्रमुख तथा रणनीतिक महत्त्वको व्यापारिक नाका हो। मेची भन्सार भएर भारत, चीन, बङ्गलादेश र भुटानसँग वैदेशिक व्यापार हुँदै आएको छ।

​कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहे पनि हाल गौरीगञ्ज छोटी भन्सार मात्र सञ्चालनमा रहेको सूचना अधिकारी माङ्कल राईले जानकारी दिए। उनका अनुसार बाँकी पाँचवटा छोटी भन्सार भने लामो समयदेखि थप्प छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article