झापा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले धैर्य धारण गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सही समय आउन केही समय लाग्ने तर गलत काम नहुने स्पष्ट पारेका हुन्।

सरकारका कामकारबाही तथा पछिल्ला घटनाक्रमहरूतर्फ संकेत गर्दै प्रधानमन्त्री शाहले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गरेका छन्।

”केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,” शाहले लेखेका छन्, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।”

आफ्नो राजनीतिक यात्रा र सुधारका अभियानका क्रममा आइपर्ने चुनौतीहरूतर्फ लक्षित गर्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने परिस्थिति आउने र आफ्ना लागि यो पहिलो अनुभव नभएकोसमेत बताएका छन्। “कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,” शाहले थप लेखेका छन्।
प्रधानमन्त्री शाहको उक्त पोस्ट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सर्वसाधारण तथा शुभचिन्तकहरूबाट व्यापक प्रतिक्रिया र समर्थन आइरहेको छ।
