समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

पार्टी कब्जा गर्न खोजे दुर्गति हुन्छ : कृष्णप्रसाद सिटौला

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै बृहत् एकता कायम गर्न आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।

Advertisement

​झापास्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले उक्त राष्ट्रिय भेलामा राष्ट्र, राष्ट्रियता, कूटनीतिक सम्बन्ध, पार्टीभित्र उत्पन्न अन्योल र आगामी स्थानीय तह निर्वाचनका विषयमा गहन नीतिगत छलफल हुने जानकारी दिए।

Advertisement

​कांग्रेसभित्र जारी आन्तरिक विवाद र कानुनी निरूपणको प्रसङ्ग उल्लेख गर्दै नेता सिटौलाले निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाए। तत्कालीन सभापति शेरबहादुर देउवालाई आफ्नो पक्ष राख्ने वा सुनुवाइको न्यूनतम मौका समेत नदिई निर्णय गरिएकाले मुद्दा पुनरावलोकनका लागि निवेदन दिइएको उनले स्पष्ट पारे। विपक्षी वा प्रतिवादीलाई सुनुवाइको मौका नदिई गरिएका निर्णय बदर हुनुपर्ने उनको तर्क थियो।

​विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोज्नु वर्तमान नेतृत्वको गम्भीर गलत कदम भएको टिप्पणी गर्दै उनले कार्यकर्तालाई लखेटेर र गलहत्त्याएर राजनीति अघि नबढ्ने चेतावनी दिए। पार्टीभित्र एकलौटी गर्न खोजे त्यसले झन् ठूलो दुर्गति निम्त्याउने बताउँदै सिटौलाले देउवासँग आफ्ना थुप्रै असहमति रहे पनि अप्ठ्यारो परेका वेला सहयोग गर्नु राजनीतिक संस्कार भएको उल्लेख गरे।

​नवीकरण भइसकेको सदस्यता पुनः अद्यावधिक गर्ने बहानामा तल्ला तहका सभापतिहरूलाई कारबाही गरिनुलाई उनले वर्तमान नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिका रूपमा चित्रण गरे। कसले सदस्यता अद्यावधिक गर्‍यो वा गरेन भन्ने विषय छाडेर पार्टीभित्र एकता खोज्न उनले कार्यकर्ताहरूलाई आह्वान गरे।

​अर्को प्रसङ्गमा सिटौलाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति समेत कटाक्ष गरे। लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्नेमा पर्दापछाडिबाट शासन चलाउन खोजिएको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेकै भरमा देश नचल्ने र संसद्मा उठेका प्रश्नको जवाफ संसद्मै उभिएर दिनुपर्ने धारणा राखे।

फाइल तस्बिर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article