झापा । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च रहे पनि आपूर्ति व्यवस्थापनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। चालु आर्थिक वर्षको साउन १ देखि २४ गतेसम्मको अवधिमा मात्रै ४२ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको निगमको तथ्याङ्कले देखाएको छ।

सामान्य अवस्थामा नेपालमा मासिक औसत ४५ हजारदेखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ। तर चालु महिनाको २४ दिनमै करिब एक महिनाको औसत खपत बराबर ग्यास भित्रिइसकेकाले बजारमा माग अत्यधिक बढेको पुष्टि हुन्छ। बजारमा ग्यासको अभाव हुन थालेको हल्ला फैलिएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग समन्वय गरी आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ।

अघिल्लो आर्थिक वर्षको फागुनमा वर्षकै उच्च ५१ हजार १९२ मेट्रिक टन ग्यास आयात भएपछि उपभोक्ताले ठूलो परिमाणमा सिलिन्डर सञ्चित गरेका थिए। त्यसपछि चैत महिनादेखि ७.१ केजी क्षमताको आधा सिलिन्डर बिक्री सुरु गरिएपछि माग घटेको थियो। निगमका अनुसार चैतमा ३८ हजार ८००, वैशाखमा ३२ हजार ५६, जेठमा ३३ हजार ८४४ र असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको थियो। उपभोक्तासँग पहिले सञ्चित ग्यास सकिँदै जानु र पुनः १४.२ केजीको पूर्ण सिलिन्डरतर्फ आकर्षण बढ्नाले साउनमा एक्कासि माग बढेको निगमका अधिकारीहरूको भनाइ छ।
बढ्दो मागलाई सम्बोधन गर्न निगमले मासिक आपूर्ति ६० हजार मेट्रिक टन पुर्याउन आईओलीसँग प्रस्ताव गरेकोमा भारतीय पक्ष तत्कालका लागि मासिक ५५ हजार मेट्रिक टनसम्म पठाउन सहमत भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा कुल ५ लाख २१ हजार ५२९ मेट्रिक टन ग्यास बिक्री भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ प्रतिशतले कम हो। निगम तथा ग्यास उद्योगीहरूले आयात नियमित भइरहेकाले सर्वसाधारणलाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न अपिल गरेका छन्।
