भद्रपुर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि निर्माण गरिएको तीन कोठे घर हस्तान्तरण गरेको छ। जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाका लागि उक्त घर निर्माण गरेको हो।

आइतबार आयोजित एक कार्यक्रमका बीच नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधानमा आवासको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएकाले राज्यले विपन्न नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। झापामा पार्टीले सुरु गरेको यो अभियानले राज्यलाई विपन्नको आवास अधिकारप्रति ध्यानाकर्षण गराउँदै समाजवादउन्मुख बाटोमा अघि बढ्न दबाब सिर्जना गर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख अशेष घिमिरेले यस अभियानले सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न पार्टी अग्रपंक्तिमा रहेको सन्देश दिएको बताउनुभयो।
विभिन्न दाताहरूबाट सङ्कलित ३ लाख ८१ हजार रुपैयाँको लागतमा भान्सासहितको तीन कोठे घर निर्माण गरिएको नेकपाका केन्द्रीय सदस्य एवम् घर निर्माण संयोजक बासु दुलालले जानकारी दिनुभयो। पार्टी सदस्यहरूबाटै रकम सङ्कलन गरेर अभियानलाई निरन्तरता दिइने र दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको उहाँले बताउनुभयो।
संयोजक बासु दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू, जिल्ला तहका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा घर निर्माणमा नगद तथा जिन्सी सहयोग पुर्याउने दाताहरूलाई सम्मानसमेत गरिएको थियो।
