समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट, द्विपक्षीय सम्बन्धबारे छलफल


नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् राजदूत श्रीवास्तवसँग शाहको यो पहिलो ‘एक-अन-एक’ (वान-अन-वान) औपचारिक वार्ता हो।

Advertisement

भेटका क्रममा नेपाल-भारत बीचको ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, साझा हितका विषयहरू र विविध सहयोगका क्षेत्रमा विस्तृत छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले भारतसँगको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको हित हुने पारस्परिक क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो। शाहले राजदूत श्रीवास्तवलाई उपहार स्वरूप परम्परागत मैथिली चित्रकला प्रदान गर्नुभएको थियो।

Advertisement

भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुई देशबीचको बहुआयामिक साझेदारीलाई अझ उँचाइमा पुर्‍याउने विषयमा निकै फलदायी र सार्थक छलफल भएको जानकारी दिनुभयो।

कूटनीतिक भेटघाटमा पहिले केही दूरी कायम राख्दै आएका प्रधानमन्त्री शाहले पछिल्लो समय विदेशी कूटनीतिज्ञहरूसँगको प्रत्यक्ष संवादलाई तीव्रता दिनुभएको छ। सोमबार नै शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग पनि बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमसँग भेटघाट तय भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article