झापा । जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले ललितपुरस्थित उनकै निवास नजिकबाट पक्राउ गरेको हो।

श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा अनुसन्धानका लागि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनीविरुद्ध परेको उजुरीका आधारमा काठमाडौँ प्रहरी परिसरले अदालतबाट औपचारिक पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिएको हो।

लामो समयदेखि छापा तथा अनलाइन पत्रकारितामा सक्रिय श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक एवं सम्पादक हुन्। उनले नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रूपमा समेत नेतृत्व सम्हालिसकेका छन्। पक्राउ परेका श्रेष्ठलाई हिरासतमा राखी प्रहरीले घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको छ।
