बिर्तामोड, झापा — तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलको आयोजनामा पहिलो अन्तर-विद्यालय स्विमिङ प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
बिर्तामोडस्थित विद्यालय परिसरको स्विमिङ पुलमा खेलभावना, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा लिटिल फ्लावर्स इङ्गलिस स्कुल, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल, बेल्स मोडल स्कुल, कन्काई आवासीय अङ्ग्रजी माध्यमिक विद्यालय तथा आयोजक तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुल गरी पाँच वटा विद्यालयको सहभागिता रहेको थियो। सहभागीहरूले कक्षा ५ देखि ७ र कक्षा ८ देखि १० गरी दुई वर्गमा फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाइ गरी चार वटा स्विमिङ विधामा प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक लोकबहादुर दियाली विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलका प्राज्ञिक निर्देशक डा. भिक्टर इग्नेोसियस जोसेफ तथा तक्षशिला किन्डर वर्ल्डकी मोन्टेसरी निर्देशक सुश्री सीमा जोसेफको सम्मानित उपस्थिति रहेको थियो।
प्रतियोगिताको समग्र उपलब्धि पुरस्कार लिटिल फ्लावर्स इङ्गलिस स्कुल तथा तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले हासिल गरेका छन्। विजेताहरूलाई अतिथिहरूबाट ट्रफी तथा पदक प्रदान गरिएको थियो भने सबै सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, विद्यार्थीहरू सँगै आएका प्रशिक्षकहरूलाई उनीहरूको मार्गदर्शन र सहयोगको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।
यस अवसरमा तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले आफ्नो खेलकुद मञ्च अन्य विद्यालयका विद्यार्थीहरूका लागि खुल्ला गर्दै खेलकुद संस्कृतिको प्रवर्द्धन, अन्तर-विद्यालय सम्बन्ध सुदृढीकरण तथा विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिर आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने लक्ष्य राखिएको जनाएको छ।
