झापा , १७ कार्तिक: उच्च सुरक्षा जोखिम देखिएपछि बन्द गरिएको विद्युतीय खरिद प्रणाली सरकारले नयाँ स्वरूपमा पुनः सञ्चालनमा ल्याएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएको हो। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि सरकारले केही समयका लागि विद्युतीय खरिद प्रणाली बन्द गरी कागजी प्रक्रियामार्फत ठेक्का आह्वान तथा खरिद प्रक्रिया अघि बढाउँदै आएको थियो।
सहरी विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा आएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूलाई नयाँ प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ। नयाँ व्यवस्थाअनुसार अब सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ विद्युतीय खरिद प्रणालीमार्फत मात्र प्रकाशन गर्नुपर्नेछ।
यद्यपि, बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र बोलपत्र प्रस्ताव अनलाइन वा सम्बन्धित कार्यालयमा हार्डकपीमध्ये कुनै एक माध्यमबाट पेस गर्न सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, सार्वजनिक निकायले बोलपत्र खोल्ने तथा मूल्याङ्कन गर्ने कार्य विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ। हार्डकपीमार्फत प्राप्त भएका बोलपत्र प्रस्तावको विवरण भने अभिलेख, मुचुल्का तथा मूल्याङ्कन प्रतिवेदनमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
