साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आमा कविता : शार्दूलाविक्रीडित छन्द

आमाको ममता सरी जगतमा पाइन्छ के नै अरू
आफ्नो ज्यान समेत जोखिम गरी सन्तान दाताहरू
आमाको महिमा अपार छ यहाँ जानेर को सक्छर
आमा शव्द छ शव्दकोष भरिको आहा बडो सुन्दर ।

Advertisement

आमाले रस पान अमृत सरी वात्सल्य बर्षाउछिन्
हाम्रो जीवन मार्ग दर्शन सबै औल्याइ दर्साउछिन्
आमाको उपदेश हुन्छ पहिलो यो जिन्दगीको फल
हाम्रो जीवन माथि हुन्न कहिलै आमाहरूको छ्ल ।

Advertisement

आमा उद्गम श्रोत हुन् जीवनको संसार देखाउने
माया प्रेम दिएर शैशव ठुलो पारेर टेकाउने
न्यानो काख समान छैन जनको अन्यत्र केही पनि
आत्मैदेखि पुकार्छ आर्त जनले यै शव्द आमा भनी ।

आमाको जतिको मिठो र रसिलो मायाकहाँ हुन्छर
आमाको अतिरिक्त बाहु कसको प्यारो हुँदै छुन्छर
सारा चीज भुलेर बित्छ दिन यो बिर्सन्न आमा किन
आमानै पहिलो छ शव्द शिशुको बोली फुरेको दिन ।

आमा स्वर्ग समान दिव्य गहना शृंगार आभूषण
आमा तागत हुन् शरीर भरको उर्जा तथा पोषण
आमा अग्रिम श्रोतहुन् जीवनको भण्डारहुन् ज्ञानको
आमाको इतिहास मेट्न कसले सक्ला र सम्मानको

तुलसी प्रसाद भट्टराई
बिर्तामोड झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article