हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रामेछापको राजनीतिक इतिहास र विकासको अवस्था –कृष्णबहादुर तामाङ

रामेछापकोे विकासको चर्चा गर्नु अगाडी यो लेखमा रामेछाप जिल्लाको पृष्ठभूमि केलाउने प्रयास गरेको छु । यो क्षेत्रका धेरै ठाउँहरु छापसँग जोडिएका छन् र नामको पछाडी छाप जोडिएको छ । जस्तै रामेछाप, छिमेकी जिल्ला दोलखाको किराँतछाप, सिन्धुलीको नयाँ छाप, काभ्रेको थिंछाप आदि । कुनै बेला नयाँ बिर्ता सिर्जना गरी बाँडिएको जग्गा वा ठाउँलाई छाप भनिन्थ्यो ।

Advertisement

त्यसैले रामे वा राजेभन्ने कुनै मान्छेले बिर्ता पाएको ठाउँलाई रामेछाप भनियो होला, थिँ थरका व्यक्तिले बिर्ता पाएको ठाउँलाई थिँछाप, किराँतले विर्ता पाएको ठाउँलाई किराँतछाप भनियो होला भनि अनुमान लगाउन सकिन्छ । तामाङ भाषामा ठाउँ विशेष यसको अनेकौं अर्थ लगाइन्छ । तामाङ भाषमा छाप भन्नाले ठाउँ, थलो, गाउँ भन्ने बुझिन्छ । यति चाहिं भन्न सकिन्छ कुनै बेला यस क्षेत्रमा किराँतहरुको ठूलै प्रभाव थियो । किराँत राजा यलम्बरले पश्चिममा त्रिसुलीदेखि पूर्वमा टिष्टासम्म राज्य विस्तार गरेको इमान सिंह चेम्जोङले हिष्ट्री एण्ड कल्चर अफ किराँती पुस्तकमा उल्लेख गरेका छन् । पन्ध्रौं शताब्दीसम्म आइपुग्दा रामेछाप मल्ल राज्यभित्र रहेको थियो । यक्ष मल्लको निधनपछि उनका छोराहरु भिन्न हुँदा रण मल्लले बनेपामा राज्य गरेपछि रामेछाप रण मल्लकै अधिनमा गएको इतिहास पाइन्छ ।

Advertisement

केही वर्षपछि नै बनेपा राज्य भक्तपुरमा विलिन हुन पुग्यो, त्यसपछि भक्तपुरबाट रामेछाप शासित हुन थालेको हो । काठमाडौ उपत्यका पृथ्वीनारायण शाहको अधिनमा आउनु अघि नै ईस्वी सम्वत् १७५४ अगष्टमा पत्रलेखेर रामेछापलाई आफ्नो अधिनमा ल्याइसकेका थिए उनले । उसबेला जनहितको निम्ति शासन गर्नेभन्दा पनि व्यक्तिगत इच्छा पुरा गर्नको लागि शासन गर्ने महत्वकांक्षा राखिन्थ्यो । तर मुलुकमा प्रजातन्त्र आएको पनि ७० वर्ष भइसकेको छ । यसबीचमा पनि रामेछापको विकास किन हुन सकेनन् त भन्ने मेरो मूल प्रश्न हो । रामेछाप जिल्लाबाट पञ्चायकालदेखि गणतन्त्रकालसम्म पुग्दा सूर्यप्रसाद उपाध्याय र नवराज सुवेदी बाहेक कसैले मन्त्रीसम्म बन्ने हैसियत राखेनन् । मुलुकमा पुनः प्रजातन्त्रको उदय भएपछि केही वर्ष रामेछापबाट निर्वाचित लक्ष्मण प्रशाद घिमिरे जलश्रोत राज्यमन्त्री बन्नु भयो । कामका हिसाबले उहाँको नाम गणनामा गर्न सकिन्छ ।

त्यसपछि मन्त्री बनेका इन्द्रप्रसाद ढुंगेल, कमल चौंलागाई, माधवप्रसाद पौडेल, राज्यमन्त्री बनेका रामहरि ढुंगेल, श्यामकुमार श्रेष्ठ कसैको विकासका दृष्टिले गणना गर्नु पर्ने स्थिति छैन । अहिलेका प्रदेश मन्त्री कैलाश ढुंगेलबाट पनि रामेछापले दीर्घकालीन र देखाउन मिल्ने विकासको लाभ लिन सकेको छैन । खुद्राखाद्री काममै उनको ध्यान केन्द्रीत भएको छ । त्यसैले निर्वाचनका क्रममा व्यक्ति छनोटलाई महत्वपूर्ण विषय बनाइनु पर्छ । नत्र हतारमा निर्णय गर्ने र फुर्सदमा पश्चताप गर्ने दिन आउँछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामेछापको ठूलो योगदान थियो भन्ने कुरा सूर्यप्रसाद ढुंगेल उपाध्यायको इतिहास हेर्दा जानकारी हुन्छ । राणाकालमै उच्च सरकारी ओहोदामा पुग्नु भएका सूर्यप्रसादलाई नेपाली कांग्रेसमा बिग फोरका एक सदस्यका रुपमा लिइन्थ्यो ।

२०१७ सालअघि सम्म वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर राणा र सूर्यप्रसाद उपाध्यायको सामूहिक निर्णयबाट कांग्रेस सञ्चालित हुन्थ्यो । भारतको दरभंगामा २००५ साल पुष १५ कोलकत्ताको भेलाबाट नेपाल प्रजातन्त्र काँग्रेसको प्रधानमन्त्री बन्नु भएको थियो उपाध्याय । पार्टीको सभापति महेन्द्रविक्रम शाह थिए भने सहायक प्रधानमन्त्रीमा प्रेमबहादुर कंशाकार हुनुहुन्थ्यो । कोलकातामा २००६ साल चैत २७, २८ र २९ गते भएको चौथो महाधिवेशनमा दुई काँग्रेस एक भए । र, महाधिवेशनबाट नेपाली काँग्रेस जन्म हुँदा सूर्यप्रसाद उपाध्याय कार्यसमितिमा पर्नु भयो । पाँचौ, छैठौं र ललिता निवास, काठमाडौंमा २०१७ साल बैशाख २५ देखि ३१ सम्म भएको महाधिवेशन सम्म कहिल्यै उहाँ कार्यसमितिमा पर्न छुट्नु भएन । यसअघि २०१४ साल जेठ १० गते विराटनगरमा भएको विशेष महाधिवेसनबाट उहाँलाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।

उहाँको काठमाडौंदेखि दिल्लीसम्म बलियो पहुँच थियो । २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपाध्याय गृह र खाद्य मन्त्री हुनुहुन्थ्यो । २०१६ साल जेठ १३ गते वीपी कोइराला नेतृत्वको निर्वाचित सरकारमा पनि उहाँलाई गृह र कानुन मन्त्री बनाइएको थियो । जवकि उहाँले काठमाडौं र रामेछाप दुवै ठाउँबाट चुनाव हार्नु भएको थियो । नेपालको राजनीतिमा रामेछापको उपस्थिति कुनै बेला अनिवार्य मानिन्थ्यो । यसैले व्यक्तिको हैसियतमाथि मैले चर्चा गर्न खोजेको हुँ । १९७० वैशाख १९ मा जन्मिएका सूर्यप्रसादले दरबार हाइस्कुलबाट मेट्रीक र पटनाबाट एमए (इतिहास), बीएल तथा बीटी गरेका थिए । अत्यन्तै अध्ययनशील रहने यिनलाई देशभरका घटना परिघटना, विश्व राजनीतिको जानकारी हुन्थ्यो ।

उपाध्यायको २०४१ साल असार १५ गते निधन भयो । त्यसअघि नै राजनीतिमा उदायका नवराज सुवेदी अनेकौं मान्त्रालय र राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत भए । पञ्चायतमा काम गर्नु भएका सुवेदीको मैले चर्चा गर्न चाहिन । किन भने पात्रहरु जो देखिएको भए पनि शासन राजाकै हातमा थियो त्यसबेला, उनी जे चाहन्थे त्यही मात्र हुन्थ्यो । स्वतन्त्र हैसियत पञ्चहरु कसैको थिएन ।

हैसियत हुनेहरु पञ्चायत विरुद्धको राजनीतिमा थिए । रामेछापको अहिलेको अबस्था रामेछापको विगतलाई हेर्दा जनताले निर्वाचनमा विजयी गराउँदा एक जना पनि राष्ट्रिय राजनीतिमा प्रभाव राख्न सक्ने व्यक्ति चयन गर्न सकेनन् ? कि निर्वाचित हुनेहरुले आफ्नो व्यक्तित्व विकास गर्न नसकेका हुन् ? कि हामीले नै कहिल्यै राष्ट्रिय हैसियत बनाउन नसक्नेहरुलाई निर्वाचित गरेर पाठाएको छौं ? मलाई घरीघरी यो कुराले बेचैन गराउँछ । गत वर्ष मात्र रामेछाप जिल्लाका लागि २ अर्ब ५० करोड ४१ लाख रकम सरकारले विनियोजन गरेको थियो । रामेछापको लागि यो बजेट अत्यान्तै अपुग हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)