यतिबेला राजनीतिमा युवा पुस्ताको सहभागिताको खोजी भइरहेको छ । राजनीतिमा युवा वर्गको नेतृत्व समयको पनि मांग बनेको प्रतीत हुँदैछ । हरदम केही नयाँ र केही फरक रचनात्मक काम गरौं भन्ने हुट्हुटी राख्ने यही पुस्तामा समाज र राष्ट्रहितका लागि निरन्तर पहल गर्ने सोच, जोश र जाँगर समेत हुन्छ । युवा वर्ग नै राजनीतिका अभियन्ता बन्नुपर्ने समयको यही मागलाई पूर्ति गर्न सुदूर पूर्वी झापा जिल्लाको राजनीतिमा पनि युवाहरूको सहभागिता बढ्दै गएको छ । र, युवा पंक्तिको समूहमा राजनीतिको सिँढी चढ्दै गरेका एक जागरुक एवम् सक्रिय युवा नवीन बिमलीले यतिबेला आफ्नो दर्बिलो उपस्थिति दर्ज गरेका छन् ।


यही समयसन्दर्भमा २०५७ सालमा १८ वर्षको उमेरवयमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका नवीन त्यसपछि सहसचिव, सचिव, सभापति हुँदै ३ नम्बर क्षेत्रीय सचिव र सभापति बनेका उनले नेविसंघकै झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापति रहेर निरन्तर नेतृत्व गरेका उनी विद्यार्थी राजनीतिबाटै पार्टीको मूल प्रवाहमा समाहित भए । कांग्रेसको १२ औं महाधिवेशनबाट क्षेत्रीय सचिव बनेका नवीन १३ औं महाधिवेशनमा क्षेत्रीय सभापति बने ।

त्यसयता २०६२÷’६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौं पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्ने योद्धाको परिचय बनेको छ, नवीनको । नेतृत्व क्षमतामा आफूलाई काबिल सावित गरिसकेका उनै नवीनको आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले युवा पुस्तामा उनको राजनयिक छवि निर्माण गरेको छ । राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनलाई फरक पहिचान दिंदै स्थापित गराइरहेको छ ।

यही मंसीर ६ गते सम्पन्न नेकांको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत हासिल गरेर निर्वाचित नवीन भन्छन्– ‘नयाँ र पुरानो नेतृत्वबीचमा रहेको दूरी हटाउन पुलको भूमिका निर्वाह गर्ने मेरो अबको लक्ष्य हो ।’
आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्न माहिर उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी–चुक्ली र अर्काको बद्ख्वाइँ गरेर आफू मपाईं बन्न खोज्ने शैली विरुद्ध छन् । उनले आफू अहिलेसम्म आफ्नै बलबुतामा संघर्षमा होमिएरै यहाँसम्मको राजनीतिक यात्रा तय गरेका हुन् ।
महामानव राजनेता कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर अब व्यावहारिक राजनीतिमा जोडिनु पर्नेमा उनी जोड दिन्छन् । उदीयमान युवा राजनीतिकर्मी नवीन ‘पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको’ बताउँछन् । पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठापूर्वक निर्वाह गर्दै लोकप्रिय बनेका उनी यसपटक कांग्रेस झापाको सचिव पदका दावेदार हुन् ।
कांग्रेस झापाको चुनावमा सचिव पदका प्रतिस्पर्धीमध्ये सबैभन्दा सशक्त उम्मेदवार नवीन बिमली रहेको कांग्रेसवृत्तमा चर्चा छ । विद्यार्थी राजनीतिदेखि निरन्तर पार्टीगत जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेका नवीनलाई असहज परिस्थितिबाट स्थापित हुँदै आएको नेतृत्वको रूपमा लिइएको छ । ‘राजनीतिमा संघर्ष गरेर वा आशीर्वाद पाएर नेतृत्व स्थापित हुन्छ’ भन्ने गरिन्छ । तथापि उनी संघर्षबाटै स्थापित हुँदै यो ठाउँसम्म आइपुगेका हुन् ।