हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारत गएका नेपाली कोरोनाको जोखिम : धमाधम घर फर्किन थाले

भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।

Advertisement

भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किनुभयो । “भर्खर काममा लागेको थिएँ, कोरोनाको सङ्क्रमण बढेपछि छाडेर फर्किनुप¥यो”, उहाँले भन्नुभयो, “पहिलो वर्ष महिनौ बन्दाबन्दीमा काम नगरी बस्दाको पीडालाई सम्झेर फेरि पनि त्यस्तै हुने हो कि भन्ने डरले घर फर्केको हुँ ।”

Advertisement

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन् । खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५०० भन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । उहाँले भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको बताउनुभयो । शङ्कास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको छ ।

“कोरोना परीक्षण गर्ने गरेका छौँ, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौँ”, रोकायाले भन्नुभयो, “भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौँ, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले कोरोनाको सङ्क्रमण बढ्न थालेको अवस्थामा सीमानाकामा कडाइ गरिनुपर्ने बताउनुभयो । सत्ती भन्सार कार्यालयस्थित हेल्थ डेस्कको अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले भारतबाट आउने नेपाली नागरिकको सीमा क्षेत्रमै कोरोना परीक्षण तथा खोप नलगाएकालाई खोपको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “पहिलेभन्दा अहिलेको सङ्क्रमणदर उच्च छ, सबैले स्वास्थ्य सावधानी अपनाउन सकेमात्रै हामी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित हुन सक्छौँ, सीमानाकामा सावधानी अपनाउन आवश्यक छ । भारतबाट आउनेलाई सीमामै निगरानी गन सके सङ्क्रमण गाउँगाउँमा फैलिने जोखिम कम गर्न सकिन्छ”, रावलले भन्नुभयो ।

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताउनुभएको छ । उहाँले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी खटाइएको बताउनुभयो । “दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ । भारतबाट आउने तथा जानेको तथ्याङ्क राख्ने गरेका छौँ ।” खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन् । “कोरोना जोखिम कम गर्न प्रयासरत छौँ”, रावलले भन्नुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)