प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या नरहेको बताए।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सहमति जनाएका छन्। विहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरूलाई बताएका थिए।

निर्वाचनका लागि समय पुग्छ त ? भन्ने प्रश्नमा उनले भने, ‘अब एक सय दिनभन्दा बढी समय छ। हामी सक्छौं। जेठ ५ गते भन्दा उता जान मिल्दैन। मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि हामी तयारी अघि बढाउँछौं।’ जेठ ५ अगाडि चुनाव गर्न कानुनले पनि नछेक्ने थपलियाले बताए।