बिर्तामोड । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको सुखदुःखमा साथ दिँदै आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस झापाले बिर्तामोडमा आयोजना गरेको प्रशिक्षक अभिमुखीकरण तथा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सिटौलाले संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन केन्द्रित गतिविधि अघि बढाउन आग्रह गरे । प्रशिक्षित कार्यकर्ताले जनतासँग प्रत्यक्ष सम्बन्ध जोडेर पार्टीको पक्षमा जनमत निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सिटौलाले कांग्रेसको आधिकारिकता १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले नै पाउने दाबी गरे । पार्टीको वैधानिकतासम्बन्धी विषय न्यायिक प्रक्रियामा रहेकाले सर्वोच्च अदालतले पीडित पक्षलाई न्याय दिने विश्वास उनले व्यक्त गरे ।
सिटौलाले अन्योलमा परेर वा गलत प्रचारको प्रभावमा टाढिएका पुराना नेता–कार्यकर्तालाई पार्टीको मूलघरमा फर्किन आह्वान गर्दै युवा, विद्यार्थी, आदिवासी जनजाति, महिला र अल्पसंख्यक समुदायलाई मूलधारमा समेट्न नेतृत्वको ध्यानाकर्षण गराए ।
कार्यक्रममा निर्वाचित जिल्ला पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा तहगत इकाई समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसै क्रममा सिटौलाले बिर्ताबजारमा कांग्रेस बिर्तामोड नगर समितिको कार्यालय उद्घाटन गर्नुका साथै अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गरेका ४३ जनालाई पार्टीमा स्वागत गरे ।
जिल्ला सभापति कृष्णप्रसाद हुमागाईंको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोमा भट्टराई, महिन्द्राकुमारी सुब्बा र प्रदेश सांसद रामकुमार खत्रीलगायतले आन्तरिक एकता र वैधानिक प्रक्रियाको महत्त्वबारे धारणा राख्दै निर्वाचनको मुखमा विशेष अधिवेशनका नाममा विभाजन निम्त्याउने प्रवृत्तिले कसैको हित नगर्ने बताए ।
