समाचार
हल्दिबारी संवाददाता ११ मिनेट अगाडि

सात जना सवार ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । २०८३ मंसिर ११ गते साँझ करिब ६:३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । चालकसहित सात जना सवार उक्त ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको बताइएको छ ।

दुर्घटनामा परी बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा अछामको रामारोशन गाउँपालिका–४ घर भएका २१ वर्षीय ट्र्याक्टर चालक नवीन बोहरा घाइते भएका छन् । साथै बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४० वर्षीया बिउरा ओड, सोही स्थानकी ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह पनि घाइते भएका छन् ।

घाइते पाँचै जनालाई थप उपचारका लागि बाजुरास्थित कोल्टी आधारभूत अस्पताल पठाइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)