काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवा लिन आउने सर्वसाधारणलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय परिसरमा बिचौलियाको चलखेल बढेको र सेवाग्राहीलाई हैरानी भइरहेको भन्ने व्यापक जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार दिउँसो करिब २:३० बजेको समयमा प्रशासन कार्यालय परिसरबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ घर भई सोही स्थान बस्ने ५० वर्षीय गोपाल बहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई हाल काठमाडौंको सानो भर्याङ बस्ने ४६ वर्षीय देव प्रसाद अर्याल रहेका छन्।
यसैगरी, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्र प्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओम शरण राना मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेश प्रसाद पुडासैनी र तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ घर भई हाल काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयम कृष्ण निरौला पनि प्रहरीको फन्दामा परेका छन्।
पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई छिटोछरितो काम गरिदिने बहानामा ठगी गर्ने तथा अनावश्यक हैरानी दिने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।