झापा, ३० असाेज । बिर्तामोड-८ गरामनीस्थित दुर्गा मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार एकजना स्वयमसेवकले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्षले चोर भनेको विषयले विवाद निम्त्याएको छ ।

विवाद बढ्दै गएर दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिको सचिवालयमा तोडफोड हुनुका साथै तालाबन्दी गरिएको छ । प्रत्येक वर्षको बडादशैँको महानवमीको दिन त्यहाँ भव्य पूजा आयोजना हुने गरेको छ ।

सोही दिन मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार राजवंशी समाज विकास समितिबाट परिचालित स्वयमसेवक टेप्रा राजवंशीले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्ष निलम उप्रेती सुरेशले चोरीको आरोप लगाएका थिए ।

सोही विषयलाई साम्प्रदायिक र राजनीतिक रंग दिएर भड्काउन खोजिएको छ । मन्दिर समितिका अध्यक्ष देवीप्रसाद पाण्डे दिपक र उपाध्यक्ष निलम उप्रेतीलगायतले स्वयमसेवक राजवंशीमाथि चोरीको आरोप लगाएर सिंगो राजवंशी समुदायलाई नै चोर भनेको राजवंशी समाज विकास समितिको बुझाइ छ ।

सोही विषयमा हिजो छलफल बोलाइएको थियो । कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलालगायतको पहलमा बोलाइएको छलफलमा मन्दिर समितिका पदाधिकारीहरु सहभागी नभएपछि सचिवालयमा ताला लगाइएको हो ।

भेलामा सहभागी आक्रोशित भीडले सचिवालयको बोर्ड तोडफोड गरेको थियो । राजवंशी समुदाय आक्रोशित भएर तोडफोडमा उत्रिएपछि आफ्नो अगुवाईमा सचिवालयमा ताला लगाइएको उपप्रमुख संग्रौलाले बताए ।

उनले चोरीको आरोप खेपेका राजवंशीले मन्दिर समितिका अध्यक्ष पाण्डे र उपाध्यक्ष उप्रेतीमाथि बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए ।

यसैबीच, दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिका उपाध्यक्ष उप्रेतीले महानवमीका दिन स्वयमसेवकको रुपमा खटिएका राजवंशीलाई आफूले चोर भनेकोमा गल्ती स्वीकार गरेका छन् ।

उनले अञ्जानवश त्यस किसिमको गलत शब्द प्रयोग गर्दा सिंगो समुदायको भावनामा ठेस पुग्न गएकाले सार्वजनिक रुपमा क्षमा याचना गरेका छन् ।

दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष उप्रेतीले सार्वजनिक रुपमै माफी मागेका हुन् । याे समाचार झापा टुडेबाट साभार गरिएकाे छ 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार