द्रोण अधिकारी
भद्रपुर । हडिया पुलमा भ्वाङ परेपछि भद्रपुर—धुलावारी सडकबाट यात्रा गर्ने यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् ।
उत्तरी झापाबाट काम लिएर सदरमुकाम चन्द्रगढी आउने अधिकाम्स व्यक्ति धुलाबारी–भद्रपुर सडकमा पर्ने हडिया पुलमा भ्वाङ परे पनि मर्मत नगरिएपछि छिटो छरितो यात्रा हुने भएकाले जोखिम मोलेरै यात्रा गरिरहेका हुन् ।

उत्तरी झापाबाट दक्षिणमा रहेको सदरमुकाम तथा चन्द्रगढी विमानस्थल आवागमन गर्ने धुलाबारी–भद्रपुर सडकमा पर्ने हडिया पुलमा भ्वाङ परेपछि सार्वजनिक यातायात अवरुद्ध भएको छ ।
भद्रपुर ९ र मेचीनगर १५ को सिमानामा रहेको हडिया खोलाको पक्की पुलको पश्चिम भाग भद्रपुर खण्डमा दुई वर्ष वर्षअघिदेखि भ्वाङ परेको भए पनि मर्मत नहुँदा पुलमा चारपांग्रे सवारीका साधन आवागन हुन नसक्ने अवस्था आएपछि भाडामा चल्ने सार्वजनिक यातायातका साधन बन्द भएका हुन् ।

सडक रहेको भद्रपुर नगर सरकार तथा मेची नगर सरकारले समयमै र्मतसम्भारमा ध्यान नदिँदा सानो भ्वाङ बढेर पुलबाट चार चक्के सवारी साधनको आवतजावत हुन नसक्ने अवस्था आएको छ ।
भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसक्ने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गर्दा त्यस सडकबाट सार्वजनिक यातायातमा आवतजावत गर्ने स्थानीयले अन्यत्रै घुमेर सदरमुकाम पुग्नु पर्ने बाध्यता आएको स्थानीयको भनाइ छ ।
धुलाबारीबाट ज्यामिरगढी हुँदै चन्द्रगढी—भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सार्वजनिक सवारीका साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित सदरमुकाममा रहेका प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान आउन सुविधा पु¥याउँदै आएका थिए । पुलका कारण स्थानीय सुविधाबाट बञ्चित हुनु पर्ने अवस्था आएको छ ।

‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चल्न नसकेको स्थानीय रविन्द्र राजवंशीको भनाइ छ । उनका अनुसार पुल अबरूद्ध हुँदा स्थानीयले साह्रै दुःख पाएका छन् । जिम्मेवार सरकारी पक्षले पुल मर्मत गर्ने विषयमा चासो नराख्दा सानो भ्वाङ बढेर सडक नै अबरूद्ध हुँदा पनि मतलव नराखिएकोमा आक्रोस पोखेका छन् ।
भूटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल आउन यही सडक प्रयोग गर्दै आएका छन् । पुल अबरूद्ध भएपछि उनीहरूले विर्तामोड वा चारआलीको अर्को सडक प्रयोग गर्नु पर्दा दोब्बर समय खर्च हुने छ ।

ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या उल्लेख्य भएका कारण भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किनु पर्ने बाध्यता छ ।

स्थानीयका अनुसार भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखले भ्वाङ परेको पुलको निरीक्षण गरेका भए पनि समाधानका लागि निर्णय लिन सकेका छैनन् । दुई वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको समेत स्थानीयको आरोप छ ।

एउटा नगरपालिकाले अर्कोलाई देखाएर समस्याबाट फुत्किने नगर सरकारसित करोडौंको बजेट बनाउने अवस्था छ । नगरपालिकाहरूले पूर्वाधार शुल्क भनेर सवारी साधनबाट कर उठाउने गरेका पनि छन् तर पुल मर्मत गर्ने दायित्वबाट दुवै नगरपालिका भाग्दा समस्या आइसकेको छ ।

पूर्वी उत्तरी झापाका बासिन्दालाई सदरमुकाम दक्षिण यात्राका लागि छोटो छरितो मार्गका रूपमा रहेको भद्रपुर—मेचीनगर लिङ रोड भएकै कारण अति व्यस्त सडक रहेको भए पनि पुलको जीर्ण रूपको मर्मत भने छाँयामा पर्दा दुर्घटनाको जोखिम र त्रास बढिरहेको छ । सोही कारण सार्वजनिक यातायातका साधन हिड्न नसक्ने अवस्था समेत निर्माण भएको छ । कतियप टेम्पोले जोखिम मोलेरै यात्रु ल्याउने लाने गरिरहेको हडिया पुलमा जुनसुकै बेला मानवीय क्षति हुन सक्नेमा स्थानीय चिन्तित भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार