हल्दिबारी ,१ पौष ।झापाको हल्दिबारी गाउँपालिकामा नवनिर्मित पशु उपचार अस्पताल भवनको आज एकविशेष कार्यक्रमका बीच पुर्व उपप्रधानमन्त्री एवं झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले उद्घाटन गर्नुभएको थियोे ।
हल्दिबारी गाउँपालिकाको १४ लाख २८ हजार ८ सय १४ रूपैयाँ र कोशी प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख सहित ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँको लागतमा तयार भएको अस्पताल संचालनमा आएसगै हल्दिबारी एवं छिमेकी स्थानीय तहलाई समेत पशु उपचारमा सहयोग पुग्ने बिश्वास लिइएको छ ।
भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लिङ्देन ,हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन , प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ( महेन्द्र ) वडा अध्यक्ष शुकलाल राजवन्सी ,भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराई, स्थानीय समाजसेवी धर्मराज शिवाकोटी लगायतले अस्पतालको औचित्य माथी आआफ्नो बिचार राख्नु भएको थियोे ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्षहरु देविबहादुर थापा , बिस्णु ओली ,शन्तकुमार थापा लगायत जनप्रतिनिधिहरू, विभिन्न शाखाका कर्मचारीहरू, स्थानिय सरोकारवाला एवं संचारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नु भएको थियो ।