विश्वभर तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले चैत-१९ गते देखि चैत-२५ गतेसम्म दोस्रो चरणको लकडाउनको घोषणा गर्ने निर्णय गरेसंगै झापाको दक्षिण पूर्वि भागमा अवस्थित हल्दीबारी गाउँपालिकाले लामो समयसम्म घोषित लकडाउनले गाउँपालिका क्षेत्रमा बसोबास गर्ने अति-विपन्न, अशक्त, असहाय, ज्याला मजदुरी गर्ने घरपरिवार र मजदुरहरुलाई दैनिक जीविकोपार्जनमा पर्न सक्ने कठिनाइलाई मध्यनजर गर्दै त्यस्ता घरपरिवारहरुलाई, परिवार संख्याको आधारमा ३ वटा प्याकेज वनाई राहत वितरण गर्ने भनी आज चैत-१९ गते बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो प्याकेज ६ जनाभन्दा बढि परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा १५ किलो चामल, ३ किलो दाल, डेढ लिटर तोरीको तेल, २ किलो आयोडिनयुक्त नुन र ३ वटा साबुन दिइने, दोस्रो प्याकेज ३ देखि ५ जनासम्म परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा १० किलो चामल, २ किलो दाल, १ लिटर तोरीको तेल, १ किलो आयोडिनयुक्त नुन र २ वटा साबुन दिइने र तेस्रो प्याकेज २ जनासम्म परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा ७ किलो चामल, १ किलो दाल, आधा लिटर तोरीको तेल, १ किलो आयोडिनयुक्त नुन र १ वटा साबुन दिइने निर्णय समेत भएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

त्यस्तै गरि, राहत वितरणमा सामयिकता, एकरुपता र समानता ल्याउनका लागि हल्दीबारी गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन तथा सञ्चालन कार्यविधि,२०७६ गाउँ कार्यपालिका बैठकले स्वीकृत गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले जानकारी दिएका छन् ।

लकडाउनको समयमा दैनिक हातमुख जोड्न धौधौ हुने घरपरिवारलाई मात्र राहत उपलब्ध गराउन र अनियमितता हुन नदिन कार्यपालिकाले कार्यविधि बनाई लागू गरेको गिरी बताउँछन् ।

गत चैत-१३ गते बसेको बैठकले वडा समितिहरुलाई राहत वितरण गर्नु पर्ने अति-विपन्न घरपरिवारहरुको तथ्यांक संकलन गरेर ल्याउन निर्देशन दिएकोमा वडाबाट प्राप्त भएका नामावली उपर छानविन गरि यथाशीघ्र राहत वितरणको कार्य अघि बढाइने उपाध्यक्ष गिरीले जानकारी दिए ।

हल्दीबारीमा विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाइनमा र १ जना गाउँपालिकाको क्वारेन्टाइनमा रहेको गाउँपालिकाका प्रवक्ता एवंम् कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिका संयोजक सागर पोर्तेलले जानकारी दिएका छन् ।

त्यस्तै गरी, बैठकले होम क्वारेन्टाइन र क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्थाको नियमित रेखदेख र सो को व्यवस्थापन गर्नका लागि क्वारेन्टाइन संचालन तथा व्यवस्थापन समितिलाई जिम्मेवारी तोकेको प्रवक्ता पोर्तेलले बताए ।

गाउँपालिकाका जनप्रतिनिधिहरुले पाउने सेवा सुविधाबाट १ महिनाको सेवासुविधा कटौती गरि राहत कोषमा जम्मा गर्ने तथा करार र ज्यालादारीका कर्मचारीहरुको १० दिन बराबरको सेवासुविधा कटौती गरि कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगरले जानकारी दिएका छन् ।

निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीको सेवासुविधा नेपाल सरकारबाटै कटौती भई कोषमा जम्मा हुने र गाउँपालिकाका स्वास्थका कर्मचारी र हलुका सवारी चालकको भने सेवा सुविधा कटौती नगर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार