नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि चैत-१९ गतेदेखि चैत-२५ गतेसम्म लागू हुने गरि दोस्रो चरण लकडाउन गर्ने घोषणा गरेसंगै लामो समयको लकडाउनबाट गाउँपालिका क्षेत्रमा बसोबास गर्ने अति-विपन्न, अशक्त, असहाय एवंम् दैनिक ज्यालादारी गर्ने परिवार र मजदुरहरुलाई जीविकोपार्जनमा पर्न सक्ने कठिनाइलाई मध्यनजर गर्दै हल्दीबारी गाउँपालिकाले राहत वितरणको तयारी तीब्र पारेको छ ।

चैत-१९ गते बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रमा रहेका दैनिक जीविकोपार्जन गर्न धौ-धौ पर्ने नागरिकहरुलाई राहत वितरण गर्नका लागि कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन एवंम् संचालन कार्यविधि, २०७६ स्वीकृत गरेको थियो ।

कार्यपालिकाको निर्णय बमोजिम आज चैत-२० गते विहान-८ बजे गाउँपालिका क्षेत्रमा क्रियाशील राजनीतिक पार्टीका प्रमुखहरु, उद्योगी, व्यवसायी एवंम् रेडक्रसका प्रतिनिधिहरु सहित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् राहत वितरणका सम्बन्धमा छलफल आयोजना गरिएकोमा सबै राजनीतिक पार्टी, उद्योगी, व्यवसायी र रेडक्रसका प्रतिनिधिहरुले कोरोना संक्रमण विरुद्धको अभियानमा गाउँपालिकालाई आर्थिक, सामाजिक र नैतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिए ।

छलफलबाट कोरोना संक्रमण विरुद्धको अभियानमा सचेतना अभिवृद्धि, संक्रमण रोकथाम तथा नियन्त्रण र राहत वितरणमा सबै पक्ष हातेमालो गरेर अगाडि बढ्ने निर्णय समेत भएको अध्यक्ष लिङ्देनले बताए । उक्त छलफल कार्यक्रममा नेकपा हल्दीबारी अध्यक्ष याम राई, नेपाली काँग्रेसका सभापति दिलिप मावो, राप्रपा अध्यक्ष एकराज रानामगर, उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाँ,उद्योग व्यवसाही सुमन मैनाली ,कृस्ण प्रसाईलगायत हल्दीबारी क्षेत्रका उद्योगी, व्यवसायी एवंम् रेडक्रस प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

त्यस्तै गरि, आजै दिउँसो ३ बजे हल्दीबारी गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूह र सहकारी संस्थाहरु सहितको सर्वपक्षीय छलफल समेत आयोजना गरिएको छ । कोरोना संक्रमणले गाउँपालिका क्षेत्रमा रहेका दैनिक गुजारा चलाउन कठिनाई भएका घरपरिवारलाई राहत सहयोग गर्न गाउँपालिकाले सामुदायिक वन र सहकारीका प्रतिनिधिहरुसंग अनुरोध गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

सहकारी संस्थाहरुले आफ्नो कोषबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक विकासको क्षेत्रमा खर्च गर्नुपर्ने बजेट र सामुदायिक वन उपभोक्ता समूहहरुले गरिबी न्यूनीकरण शीर्षकमा खर्च गर्नुपर्ने बजेटबाट केही प्रतिशत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र राहत वितरणका लागि गाउँपालिकाले तयार पारेको कोषमा जम्मा गर्न अनुरोध समेत गरेको उपाध्यक्ष गिरीले बताए।

छलफलमा सहभागी प्रतिनिधिहरुले राहतको दुरुपयोग हुन नदिनका लागि अति-विपन्न घरपरिवार छनौटको मापदण्ड तयार पारेर राहत वितरणका लागि वास्तविक घरपरिवारहरु मात्र छनौट गर्न गाउँपालिकालाई सुझाव दिएका थिए । छलफलमा हल्दीबारी गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवंम् राहत वितरणको सन्दर्भमा हालसम्म गरेको तयारी र सञ्चालित गतिविधिहरुको बारेमा गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सहभागीहरुलाई जानकारी गराएका थिए ।

गत चैत-११ गते बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले राहत वितरण गर्नुपर्ने घरपरिवारहरुको नामावली संकलनका लागि वडा समितिहरुलाई जिम्मेवारी दिएकोमा वडा न.१ बाट १५६ परिवार, वडा न.२ बाट ८७७ परिवार, वडा न ३ बाट ३५० परिवार, वडा न ४ बाट ३७९ परिवार र वडा न ५ बाट १५३ परिवार गरि जम्मा १९१५ घरपरिवारहरुको नामावली प्राप्त भएकोमा सो नामावली उपर वडा स्तरीय कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समितिमा छलफल गरि ल्याउन भनी पठाइएको प्रवक्ता पोर्तेलले जानकारी दिए ।

साथै, अति-विपन्न घरपरिवारहरुको नामावली चाँडै टुंगो लगाएर यथाशीघ्र राहत वितरणको कार्य अगाडि बढाइने प्रवक्ता पोर्तेलले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार