बिर्तामोड । बिर्तामोड–३ स्थित लिङ्कन मन्टेस्वरीले विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई लक्षित गरी एक दिने बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागी अभिभावकलाई बालबालिकाको मानसिक स्वास्थ्य, पढाइ–लेखाइमा देखिने चुनौती, सकारात्मक सोच विकास तथा व्यवहारमैत्री वातावरण निर्माणका उपायबारे जानकारी दिइएको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले बालबालिकाको समुचित विकासका लागि अभिभावक, शिक्षक र विद्यालयबीच त्रिपक्षीय सहकार्य आवश्यक हुने बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सोमाली मैनालीले अभिभावकलाई बालबालिकाको मनोवृत्ति, मानसिक स्वास्थ्य, आत्मविश्वास विकास, घर–विद्यालय सहकार्यलगायत विषयमा प्रशिक्षण दिनुभयो।
सो अवसरमा विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको क्षमता पहिचान गरी उचित दिशामा अघि बढाउन अभिभावक र शिक्षकबीच निरन्तर समन्वय अपरिहार्य हुने धारणा राख्नुभयो।
कार्यक्रमसँगै विद्यालयले तीज विशेष सांस्कृतिक प्रस्तुति समेत आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकले तीज गीत, नृत्य र अन्य प्रस्तुतिहरू दिएका थिए।
त्यस अवसरमा शान्ति टोल विकास समितिको नवनिर्वाचित कार्यसमितिलाई विद्यालय परिवारले शुभकामना ज्ञापन गर्दै समुदायसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएको थियो।