बिर्तामोड, झापा । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रम अनुसार शनिबार देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरू सम्पन्न भएका छन्। कतिपय जिल्लामा जनजागरण सभा, कतिपयमा मोटरसाइकल र्‍याली तथा अन्तरक्रियासहितका कार्यक्रम गरिएको पार्टी स्रोतले जनाएको छ।

यही क्रममा झापामा आयोजित जिल्लास्तरीय जनजागरण सभामा १५ वटै स्थानीय तहबाट प्रतिनिधिमूलक सहभागिता जनाउँदै हजारौँ नेता–कार्यकर्ता बिर्तामोडमा भेला भएका थिए।


सभालाई सम्बोधन गर्दै एमाले सचिव पद्मा अर्यालले संसद पुनःस्थापना, संविधानको रक्षा तथा “असंवैधानिक सरकारी कदम” विरुद्ध दबाब सिर्जना गर्न जनजागरण अभियान सुरु गरिएको बताउनुभयो।

भदौ २३–२४ मा भएका घटनाबारे उठिरहेका प्रश्नहरूमा प्रतिक्रिया दिँदै अर्यालले भनिन् , “नवयुवा पुस्ताले गरेको आन्दोलनलाई पृष्ठभूमि देखाएर विध्वंश मच्चाइएको जस्तो केही होइन। भदौ २४ को घटनामा संलग्न देशद्रोहीहरूले महिनौँदेखि तयारी गरेको पोख्त प्रमाण जुटिसकेको छ।”

उनका अनुसार घटनाबारे सत्यतथ्य उजागर गर्न वर्तमान निर्दलीय सरकारले दृढता नदेखाए एमाले नेतृत्वको सरकार बन्नासाथ आवश्यक कारबाही अघि बढाइनेछ।

जेन–जी आन्दोलनका क्रममा देखिएका आपराधिक गतिविधि तथा अराजक मुदाहरुमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न दबाब दिने उद्देश्यले समेत जनजागरण कार्यक्रम गरिएको उनी बताउँछिन्।

एमाले राष्ट्रवादी शक्तिमाथि नियोजित आक्रमण भइरहेको आरोप लगाउँदै अर्यालले कार्यकर्तालाई नडगमगाउन आग्रह गर्दै भनिन्, “जेन–जी आन्दोलनका धेरै मागहरू एमालेकै माग हुन्। ती मागहरू उचित ढङ्गले सम्बोधन हुनु आवश्यक छ।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्तर्राष्ट्रिय छवि कमजोर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा फैलाइएका अफवाहहरूबाट भ्रममा नपर्न पनि उनले कार्यकर्तालाई सचेत गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार