समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

प्रौढ उमेरमै साहित्यिक उचाइ: सर्जक हरिप्रसाद न्यौपानेको यात्रामा ‘तरङ्ग’-देखि ‘रमा स्मृति’सम्म

द्रोण अधिकारी ‘गुहेली’

उमेरले सिर्जनशीलतामा रोक लगाउँदैन—यसको जीवन्त उदाहरण बनेका छन्, ७५ वर्षीय कवि तथा सर्जक हरिप्रसाद न्यौपाने। ६२ वर्ष कटेपछि मात्रै साहित्यमा डुबुल्की मार्न थालेका उनी आजसम्म आइपुग्दा फुटकर कविता, खण्डकाव्य र महाकाव्य गरी ६ कृति प्रकाशित गरिसकेका छन्।

विज्ञापन (Advertisement)Advertisement

कविता लेखनतर्फ आफूलाई सक्रिय बनाउन न्यौपानेलाई प्रेरणा दिएको माध्यम हो—छन्दको तरङ्ग, कञ्चनजंघा एफएमको नियमित साहित्यिक कार्यक्रम। कार्यक्रम उत्पादक तथा प्रस्तोता केशव भट्टराईमार्फत प्रेरित हुँदै उनी साहित्यको फराकिलो बाटोतर्फ लागे।

पूर्वी नेपालको भोजपुर, गोगने–रचने गाउँमा वि.सं. २००७ साउन ४ गते दामोदर र पवित्रा न्यौपानेको अन्तिम सन्तानका रूपमा जन्मिएका उनी हाल भद्रपुर–१०, चन्द्रगढीका स्थायी बासिन्दा हुन्।

६२ पछि सुरु भएको लेखन–यात्रा

न्यौपानेको पहिलो कृति ‘तरङ्ग’ (२०७२) कवितासङ्ग्रह हो। त्यसपछि

‘हाम्री फुपू’ महाकाव्य (२०७४)

‘महावीर कर्ण’ काव्य (२०७६)

‘रित्तिएका आँसु’ सामाजिक काव्य (२०७८)

‘देवव्रत’ महाकाव्य (२०८१, भदौ)

‘रमा स्मृति’ काव्य (२०८१, चैत्र)
क्रमशः प्रकाशित हुँदै गए।

संस्कृत साहित्यमा पूर्वमाध्यमिक अध्ययन गरेका उनी जीवनका विभिन्न चरणमा शिक्षक, कानुनी व्यवसायी र न्याय सेवासम्बद्ध जिम्मेवारीमा सक्रिय रहे। ७० वर्ष काटेपछि कम्प्युटर चलाउन सिकेपछि उनी आफ्ना रचना, कानुनी कागजपत्रदेखि निजी लेखनसमेत स्वयं कम्प्युटरमा टाइप गर्छन्—प्रौढ उमेरमै सिर्जनशीलतामा ‘युवाको चमक’ देखा पार्दै।

साहित्य: समाजको दर्पण

न्यौपानेका कृतिहरूले समाजका विगत र वर्तमानबीचको धागोलाई समातेर मानवीय विकृति, सत्ता-शोषण र राजनीतिक विकलताको आलोचना गर्छन्।
उनका कविता काव्यमा—

सीमाना मिचिँदै गएको पीडा,

स्वाभिमान क्षय हुँदै गएको दुःख,

बढ्दो भ्रष्टाचार–दुराचारप्रति आक्रोश
स्पष्ट देखिन्छ।

यूवा पुस्तालाई मातृभूमि उजाड छोडेर विदेशिनु भन्दा देशमै अवसर सिर्जना गर्ने चेतना उनका कविताले जगाउने प्रयास गर्छन्। संघीय लोकतान्त्रिक प्रणाली जनमैत्री बन्न नसक्नुमा शासन सिद्धान्त कमजोर र शासक बलियो हुनुले समस्या जटिल बनेको संकेत समेत उनी बारम्बार गर्छन्।

कवितामात्रै होइन, कथा–लघुकाव्यमा पनि सक्रिय

न्यौपाने कविता काव्यमा मात्र सीमित छैनन्। कथा, लघुकाव्य र संस्मरणात्मक लेखनमा पनि उनी समान रूपले सक्रिय छन्। प्रकाशनका लागि तयारी अवस्थामा रहेका कृतिहरू—

‘ससुराली यात्रा’ कथा सङ्ग्रह

‘अभिलेख’ लघुकाव्य

‘नयाँ झोला’ कविता सङ्ग्रह
हालै अन्तिम चरणमा छन्।

यी कृतिहरूले समेत आजको नेपाली समाजका जल्दोबल्दो यथार्थलाई शब्दमार्फत प्रस्तुत गर्ने संकेत दिन्छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)