झापा, बाह्रदशी — घर बगैचा कृषि सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा बाह्रदशी गाउँपालिका–६ स्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा सम्पन्न भएको छ। संस्था अध्यक्ष लक्ष्मी तिवारीको अध्यक्षतामा बसेको सभामा झापा जिल्ला सहकारी सङ्घका सञ्चालक समिति सदस्य युवराज गौतम प्रमुख अतिथि थिए।

सभामा अध्यक्ष तिवारीले वार्षिक प्रतिवेदन र व्यवस्थापक टिकाराम रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा असल ऋणी तथा बचतकर्ताका रूपमा हर्कबहादुर पुरी, मोटा सोरेन र खिलमणि राजवंशीलाई सम्मान गरिएको थियो।

व्यवस्थापक रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सदस्य युवराज गौतम, जुनतारा सहकारी संस्थाकी सचिव चित्रकला बुढाथोकी र ताला मुर्मुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

संस्थाले गत आर्थिक वर्षमा ४ लाख ३६ हजार २३० रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थामा २७ लाख ५१ हजार १ सय रुपैयाँ बराबरको शेयर तथा ६५ लाख ६६ हजार २३ रुपैयाँ निक्षेप संकलन भएको व्यवस्थापकले जानकारी दिए। हाल संस्थामा ३२८ जना शेयर सदस्य रहेका छन्।

२०६९ सालमा ग्रामीण क्षेत्रमा स्थापना भई रु ५ बाट बचत सुरुआत गरेको घर बगैचा कृषि सहकारीले अहिले १ करोड २० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ।

















