काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट झापा जिल्लाबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित १९ जना केन्द्रीय तहका पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। झापाबाट ठूलो संख्यामा नेताहरू केन्द्रीय नेतृत्वमा पुगेसँगै पार्टीभित्र झापाको राजनीतिक प्रभाव थप सुदृढ बनेको छ।
महाधिवेशनबाट केपी शर्मा ओली १६६३ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, हिक्मत कार्की १३३७ मत प्राप्त गर्दै केन्द्रीय सचिवमा निर्वाचित भएका छन्। केन्द्रीय सदस्यतर्फ पनि झापाबाट १७ जना निर्वाचित भएका छन् भने अनुशासन आयोगमा एक जना प्रतिनिधित्व पुगेको छ।

झापाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा देवेन्द्र दाहाल (१२५४), दीपक कार्की (१२१६), अग्नि खरेल (११९९), चिन्तन पाठक (१२७४), होमबहादुर थापा (११७९), गोविन्द थापा (१११८), इन्द्र भण्डारी (१६०२), रोमनाथ ओली (१३८१), मनोज ताम्ली (११५२), निता घतानी (१५४१), निर्मला पाठक (१७४०), जलवर्षा राजवंशी (१७०२), मेनुका काफ्ले (१७१९), गीता अधिकारी (१७१७), सुनिता बराल (१६५५), मीना उप्रेती (१७१४) र एलिसा गौतम (१८१२) रहेका छन्।
यस्तै, लिला कट्टेल कार्की १७२० मतसहित अनुशासन आयोग सदस्यमा निर्वाचित भएकी छन्।
महाधिवेशनको परिणामलाई झापा जिल्ला एमालेले संगठनात्मक एकता, निरन्तर राजनीतिक योगदान र कार्यकर्ताको विश्वासको प्रतिफलका रूपमा लिएको छ। निर्वाचित नेताहरूले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउँदै जनमुखी राजनीति र संगठन सुदृढीकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
