झापा । हल्दीबारी गाउँपालिका वडा नं. ५ ले स्वर्गीय जगतबहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित वडा स्तरीय फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूलाई सम्मान गरेको छ।


वडाध्यक्ष खड्गबहादुर लावतीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेन प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा प्रतिष्ठानमार्फत आयोजना गर्नुभएको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. ५ ले उत्कृष्ट प्रदर्शन गर्दै नगद २५ हजार रुपैयाँसहित मेडल र ट्रफी हात पारेको थियो।

उक्त प्रतियोगितामा विजयी खेलाडीहरूको सम्मानस्वरूप वडा नं. ५ ले आज विशेष सम्मान कार्यक्रमको आयोजना गरेको वडाध्यक्ष खड्गबहादुर लावतीले जानकारी दिनुभयो।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं. ४ का अध्यक्ष तथा गाउँपालिका खेलकुद विकास समितिका संयोजक सन्तकुमार थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य जीवन कन्दवाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण खेलप्रेमी नरेन्द्र फागुले गर्नुभएको थियो।

सम्मान कार्यक्रममा जनप्रतिनिधि, खेलप्रेमी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
