काठमाडौँ । “हाम्रो विश्वव्यापी अभियान-जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन आगामी २१ नोभेम्बर २०२६ (५ मंसिर २०८३) मा काठमाडौँमा आयोजना हुने भएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले मूल आयोजक समितिको बैठक तथा आकस्मिक रक्तदान कार्यक्रम शनिवार काठमाडौँमा सम्पन्न भएको छ।
महाधिवेशन नजिकिँदै गर्दा विश्वका विभिन्न देशबाट संघका पदाधिकारी, प्रतिनिधि तथा शुभेच्छुकहरूको नेपाल आगमन तीव्र बनेको छ। बैठकमा महाधिवेशनलाई ऐतिहासिक बनाउन आवश्यक व्यवस्थापन र विभिन्न सांगठनिक विषयमा सघन छलफल गरिएको थियो।
यसैबीच, आयोजित रक्तदान कार्यक्रममा संस्थाका प्रमुख संरक्षक एवं वायु प्रदूषण तथा वातावरण विज्ञ अजय सत्यालले २२५औँ पटक रक्तदान गर्नुभएको छ। अमेरिकामा रहेर वातावरण विज्ञानका क्षेत्रमा कार्यरत सत्याल लामो समयदेखि सामाजिक एवं मानवीय सेवामा सक्रिय हुनुहुन्छ। प्रवासमा रहेर पनि नेपालीहरूलाई रक्तदानप्रति प्रेरित गर्दै विश्वव्यापी सञ्जाल विस्तारमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विनोद भट्टराईले ६४औँ पटक, सचिव तेज कटुवालले ३५औँ पटक र कार्यसमिति सदस्य रामजी खत्रीले ३९औँ पटक रक्तदान गर्नुभयो।
रक्तदानमार्फत मानव जीवन बचाउने पवित्र अभियानमा निरन्तर योगदान पुर्याउने सम्पूर्ण रक्तदाताहरूलाई संघका तर्फबाट हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरिएको छ।
