कृषि
हल्दिबारी संवाददाता ५६ मिनेट अगाडि

झापामा स्वदेशी फूललाई प्राथमिकता दिन प्रशासनको आग्रह : प्रतिबन्धित प्लास्टिकजन्य फूलको बिक्रीमा कडा निगरानी

झापा । आसन्न तिहार, नेपाल सम्वत् तथा छठलगायतका राष्ट्रिय पर्वहरूलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, झापाले स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर फूल उपभोग गर्न सरोकारवालाहरूमा आह्वान गरेको छ। पछिल्लो समय युवाहरूमा मौलाउँदै गएको उद्यमशील सोच र परम्परागत पुष्पखेतीको व्यावसायिक रूपतरणलाई टेवा पुर्‍याउन प्रशासनले यस्तो आग्रह गरेको हो।

​प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी अपिलमा जिल्लाभित्र सयपत्री, मखमली, गोदावरी लगायतका विभिन्न प्रजातिका फूलहरूको धार्मिक, सांस्कृतिक तथा सजावटगत प्रयोग बढ्दो रहेको उल्लेख गर्दै स्वदेशी उद्यमशीलता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न अनुरोध गरिएको छ।

​जिल्लाभित्र पुष्पको उत्पादन, आपूर्ति, भण्डारण, बिक्रीवितरण र उपयोगलाई थप व्यवस्थित तथा मर्यादित बनाउन कृषक, कृषक समूह तथा व्यवसायी संस्थाहरूबाट अमूल्य र रचनात्मक सुझावको अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

​गैरकानुनी र प्लास्टिकका फूलमाथि कडा निगरानी

प्रचलित कानुनले पूर्ण रूपमा निषेध गरेका प्लास्टिकजन्य फूलहरू तथा गैरकानुनी ढङ्गबाट भित्रिने फूलहरूको आयात र बिक्रीवितरण रोक्न सुरक्षा निकायहरूलाई कडा निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्। पर्वका बेला बजारमा हुनसक्ने प्लास्टिकका कृत्रिम फूलहरूको अवैध कारोबार नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले निगरानी बढाएका छन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)