झापा, १३ कात्तिक । जिल्ला प्रशासन कार्यालय, झापाबाट पछिल्लो चार वर्षको अवधिमा २७६ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। आर्थिक वर्ष २०७८ देखि २०८३ कार्तिक १२ गतेसम्मको अवधिमा नागरिकता त्याग गर्नेहरूको यो तथ्यांक सार्वजनिक गरिएको हो।
कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०७८ मा जम्मा ६ जना (३ पुरुष र ३ महिला), २०७९ मा ११ जना (८ पुरुष र ३ महिला), २०८० मा ७९ जना (५९ पुरुष र २० महिला) र २०८१ मा ७१ जना (५३ पुरुष र १८ महिला) ले नागरिकता त्याग गरेका छन्। त्यसैगरी, २०८२ मा ७० जना (२५ पुरुष र ४५ महिला) तथा २०८३ कार्तिक १२ गतेसम्म ३९ जना (१९ पुरुष र २० महिला) ले नागरिकता त्यागेका छन्। चार वर्षको यस अवधिमा नागरिकता त्याग गर्ने कुल २७६ जनामध्ये १४७ पुरुष र १०९ महिला रहेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय झापाबाट गैरआवासीय नेपाली (NRN) नागरिकता लिनेहरूको संख्या २४६ पुगेको छ। जसमा १६२ पुरुष र ८४ महिलाले एनआरएन नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नागरिकता त्याग र एनआरएन नागरिकता लिने क्रम बढ्नुका आन्तरिक कारणबारे स्पष्ट पार्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो कानुनी स्टेटस र व्यक्तिगत आवश्यकता तथा सुविधाका आधारमा यस्तो प्रक्रिया अपनाउने गरेको बताएका छन्। प्रजिअ पोखरेलका अनुसार वैदेशिक रोजगारी, अध्ययन वा अन्य विभिन्न देशमा स्थायी वा दीर्घकालीन बसोबासका क्रममा नागरिकता परिवर्तन तथा गैरआवासीय नेपाली नागरिकता लिने प्रवृत्तिमा यो आँकडाले स्पष्ट संकेत गर्दछ।
