बिर्तामोडको सैनिक मोड क्षेत्रमा रहेका होटलमा यौन व्यवसाय सञ्चालन हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले एक होटलबाट एक युवतीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार हिजो साँझ बिर्तामोड–३ सैनिक मोडस्थित आसाम होटल एन्ड लजमा चेकजाँचका क्रममा बिर्तामोड–७ निवासी अन्दाजी १८ वर्षीया युवतीलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले होटलको कम्पाउन्डभित्र युवतीलाई फेला पारेको जनाएको छ।
नियन्त्रणमा लिइएकी युवतीलाई हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। उनका आफन्तलाई जानकारी गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
आँखा उपचारका लागि आउने भारतीय नागरिकलाई लक्षित गरी सैनिक मोड क्षेत्रका केही होटलमा यौन व्यवसाय सञ्चालन हुने गरेको चर्चा लामो समयदेखि चल्दै आएको छ।
यस्तै, बिर्तामोडको नयाँ बसपार्क क्षेत्रका होटलमा पनि यस्ता गतिविधि हुने गरेको गुनासो स्थानीयले प्रहरीसमक्ष गरे तापनि अहिलेसम्म उक्त क्षेत्रमा ठोस कारबाही देखिएको छैन।


















