झापा, अर्जुनधारा — झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक नजिक शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मिति २०८२/०९/०९ गते राति करिब २२:३० बजे शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–६ निवासी करिब ३० वर्षीय बुद्ध तामाङ र पछाडि सवार अर्जुनधारा–४ निवासी करिब ४० वर्षीय मोहनराज कार्की घाइते भएका थिए।
दुवै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकोमा उपचारकै क्रममा मिति २०८२/०९/१८ गते दिउँसो १३:०० बजे चालक तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाएको थियो। पोस्टमार्टम पश्चात् शव आफन्तले बुझिलिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















