झापा, भद्रपुर — भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा हिजो राति अवतरणका क्रममा भएको बुद्ध एयरको विमान दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको उपचारपछि डिस्चार्ज भई घर फर्किएको छ भने बाँकी ६ जना ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त विमानमा १ जना इन्जिनियर, ४ जना क्रु मेम्बर र ५१ जना यात्रु गरी जम्मा ५६ जना सवार थिए। सो विमानमा पूर्व कानुनमन्त्री अग्नि खरेल र शनि अर्जुन नगरपालिकाका नगरप्रमुख समेत सवार रहेको पुष्टि भएको छ। उनीहरू भने सकुशल रहेको जनाइएको छ।
दुर्घटनामा यात्रु तथा क्रु मेम्बर गरी ७ जना घाइते भएका छन्, जसमा एक जना को–पाइलट पनि रहेका छन्। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ।
घाइतेमध्ये झापा भद्रपुर नगरपालिका–१० का ४० वर्षीय सबिन जोगीको छाती, कम्मर र ढाड दुखेको भए पनि बाहिरी चोट देखिएको छैन। बिर्तामोड नगरपालिका–७ की २० वर्षीया प्रेसिषा अधिकारीको बायाँ खुट्टा सुन्निएको छ भने बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगीको बायाँ खुट्टा दुखिरहेको छ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका–१६ की ४० वर्षीया मुना घतानीलाई टाउको दुख्ने र चक्कर लाग्ने समस्या देखिएको छ भने उनकी १६ वर्षीया छोरी प्रिया घतानीको दाहिने घुँडामा चोट लागेको छ। ललितपुर महानगरपालिका–४ का २४ वर्षीय सुशान्त श्रेष्ठ (को–पाइलट) को अनुहार र टाउकोमा चोट लागेको छ।
घाइतेमध्ये दमक नगरपालिका–१ का २८ वर्षीय कमलप्रसाद कटुवालको दाहिने खुट्टामा सामान्य चोट लागेको थियो र उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। विमान अवतरणको क्रममा उत्पन्न प्राविधिक अवस्था, मौसम तथा रनवे परिस्थितिबारे विस्तृत खोजबिन अगाडि बढाइएको जनाइएको छ।
दुर्घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षाका व्यवस्था कडा पारिएको थियो भने सबै यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताइएको छ।
भद्रपुरमा बुद्ध एयर दुर्घटना : ७ जना घाइते, १ जना डिस्चार्ज,पूर्व कानुनमन्त्री अग्नि खरेलसहित ५६ जना सवार, घटनाको खोजबिन जारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















