सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ‘धर्म जागरण महा सत्सङ्ग’ नामक विशेष आध्यात्मिक कार्यक्रम सन् २०२६ जनवरी २, ३ र ४ तारिखमा भव्य रूपमा सम्पन्न भएको छ। श्री योगी नरहरिनाथ एवं आदित्यनाथ फाउण्डेसन अष्ट्रेलियाको आयोजनामा सम्पन्न उक्त महा सत्सङ्गमा अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीको प्रमुख कथा प्रवचन रहेको थियो।
कार्यक्रमको पहिलो दिन जनवरी २ मा मन्त्र उच्चारणसहित कलश यात्रा गर्दै राधिका दासीको स्वागत गरियो। त्यसपछि महा सत्सङ्गको औपचारिक सुरुवात गरिएको थियो। औपचारिक कार्यक्रमको प्रारम्भमा संस्थाका सचिव कृष्ण सुवेदीले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमका संयोजक तथा अध्यक्ष पण्डित नारायण शास्त्रीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे।
औपचारिक कार्यक्रममा न्यू साउथ वेल्सका वाणिज्य दूत सञ्जीव शर्मा, योग गुरु राजन शर्मा, एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद् संयोजक उषा बारिया पोखरेल, राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली, नेपाली हिन्दु समाजका अध्यक्ष लक्ष्मी बस्ताकोटी, सनातन धर्म महासंघ एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, सल्लाहकार डा. राजु मानन्धर, तराई एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, गायिका तथा मोडल जेनिसा गौतमलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमपछि राधिका दासीबाट कथा प्रवचन तथा भक्तिपूर्ण भजन प्रस्तुत गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन धार्मिक कथाहरू, भजन तथा प्रवचन प्रस्तुत गरिनुका साथै राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली र सञ्चारकर्मी अर्जुन भुषालले मन्तव्य राखेका थिए। साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो दिन पनि राधिका दासीबाट निरन्तर कथा प्रवचन जारी रह्यो।
तेस्रो दिन पनि विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले अध्यात्मिक चेतना, जीवन र जगतका विषयमा चर्चा गरेका थिए। सत्सङ्गमा वाणिज्य दूत सञ्जीव शर्मा, इन्डो–अष्ट्रेलिया सनातन सोसाइटीका प्रतिनिधि योगेश खातर, एनआरएन अष्ट्रेलियाका पूर्व पदाधिकारीहरू, नेपाली समाजका विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। तेस्रो दिन पनि राधिका दासीको कथा श्रवण गर्दै भक्तजनहरू बाक्लो उपस्थितिसहित आध्यात्मिक अनुभूतिमा रमाएका थिए।
कार्यक्रम संयोजक नारायण शास्त्रीले संस्थाले आयोजना गरेको पहिलो कार्यक्रममै अपेक्षाभन्दा बढी उपस्थिति र सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। महा सत्सङ्ग सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संघ–संस्था, स्वयंसेवक तथा श्रद्धालुहरूप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।
सनातन संस्कृति, नाथ योग दर्शन, धर्म, संस्कार तथा आत्मचेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस धर्म जागरण महा सत्सङ्गले प्रवासमा रहेका नेपाली समुदायबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको निष्कर्ष छ। आयोजकका अनुसार यस महा सत्सङ्गको दीर्घकालीन उद्देश्य श्री योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कृत विश्वविद्यालय स्थापना गर्नु रहेको छ। संयोजक नारायण शास्त्रीका अनुसार विश्वविद्यालय स्थापना अभियानको औपचारिक शुभारम्भ आगामी जनवरी २३ गते बसन्त पञ्चमीको अवसरमा यही कार्यक्रम स्थल ग्रान्ड प्यालेस फङ्सन सेन्टरबाट सुरु गरिने निर्णय गरिएको छ।
सिड्नीमा धर्म जागरण महा सत्सङ्ग सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
+1

















