बिर्तामोड, माघ २४ । आयोजक झापा–११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। झापाले नेपाल पुलिसलाई २–१ ले हराउँदै अर्को चरणको यात्रा तय गरेको हो।
खेलको १२ औँ मिनेटमा नेपाल पुलिसले अग्रता लियो। धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए। तर, झापाले खेलको इन्ज्युरी समयको समयमा गोल फर्कायो। राजेश दाहालको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोलमा परिणत गरे।
दोस्रो हाफको ५९ औँ मिनेटमा झापाले निर्णायक गोल दियो। शिशिर लेखीको फ्रिकिकलाई राजेश दाहालले पोस्टको दिशा दिँदै गोल गरेका थिए, जसले झापालाई २–१ को जित दिलायो।
नेपाल पुलिसले केही राम्रो अवसरहरू पाएको भए पनि, ती सदुपयोग गर्न असफल रह्यो। ३५ औँ मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले रोक्न सफल भए। ५२ औँ मिनेटमा वीरेन्द्र साहको प्रहार गोलकिपर सन्दिप लिम्बुले मुस्किलले बचाए भने, ५७ औँ मिनेटमा पुलिसका खेलाडीले गोलकिपर अगाडि बढेका बेला गोलको राम्रो अवसर गुमाए।
झापाका एरोन थापा मगरले ४१ औँ मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो। समग्रमा, झापाले टिमको उत्कृष्ट प्रर्दशन गर्दै पुलिसलाई दबाबमा राखेको थियो।
खेलको प्लेयर अफ द म्याच झापाका राजेश दाहाल बने। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्नेछ भने, उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
यस प्रतियोगितामा नेपालका तीन विभागीय क्लबहरू – नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ साथै भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महताराले गरेकी थिइन्। नगर प्रमुख महताराले खेल मैदानको संरचना निर्माणमा नगरपालिकाको तयारी रहेको बताउँदै जमिनको स्वामित्व विवादका कारण लगानीको वातावरण नबनिरहेको उल्लेख गरिन्।
आयोजक अध्यक्ष केदार गिरीले झापा गोल्डकपलाई नेपाली फुटबलको एकताको सूत्रको रूपमा प्रस्तुत गरे। उनले प्रतियोगिता झापालाई फुटबलको हब बनाउने दिशामा महत्वपूर्ण कदम रहेको दाबी गरे।
डोमालाल राजवंशी रंगशालाको जग्गादाता परिवार सदस्य सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै, डोमालाल राजवंशीको शालिक अनावरण पनि गरिएको थियो।
प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास पनि गरेको थियो।


















