वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सल्यानका एक २१ वर्षीय युवकको आफ्नै साथीको आक्रमणबाट मृत्यु भएको छ। आपसी विवादका क्रममा चक्कु प्रहार हुँदा कपुरकोट गाउँपालिका–३, दमारखोलाका वेदबहादुर बुढाको ज्यान गएको हो।
घटनापछि मलेसिया प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा केही नेपाली युवाहरूलाई नियन्त्रणमा लिएको छ।
स्थानीय जनप्रतिनिधि र परिवारका अनुसार गत आइतबार राति युवकहरूबीच आपसी विवाद भएको थियो। सोही क्रममा सल्यानकै भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले वेदबहादुरमाथि चक्कु प्रहार गरेको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्गाले जानकारी दिए।
आक्रमणबाट गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। मृतक बुढा दुई वर्षअघि मात्रै कामको खोजीमा मलेसिया पुगेका थिए।
मृतकका काका परशुराम बुढाका अनुसार अहिले मलेसियामा कानूनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको छ। “हामी शव जतिसक्दो चाँडो स्वदेश ल्याउने प्रयासमा छौँ, कम्पनी र राजदूतावाससँग समन्वय भइरहेको छ,” उनले भने।
मलेसिया प्रहरीले मुख्य आरोपी डाँगीसहित घटनामा संलग्न रहेको आशंकामा अन्य केही युवालाई पनि हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।
नेपाली श्रमिकहरूबीच वैदेशिक रोजगारीका क्रममा हुने यस्ता सानातिना विवादले उग्र रूप लिँदा कतिपयले ज्यान गुमाउनु परेको छ भने कतिपय जेल जीवन बिताउन बाध्य छन्। यो घटनाले पुनः वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र आपसी सद्भावमाथि प्रश्न उठाएको छ।
मलेसियास्थित नेपाली राजदूतावासले यस्ता घटनामा कानूनी सहायता र शव फिर्ता पठाउने प्रक्रियामा सहजीकरण गर्दै आएको छ। मृतकको परिवारले उचित क्षतिपूर्तिका लागि पनि माग गरेका छन्।

















