✍नेत्र बिक्रम बिमली, झापा। झापा गाउँपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गरिरहेका ७४ विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार, स्थायी बसोबास गर्ने र विभिन्न कलेज तथा विश्वविद्यालयमा प्राविधिक शिक्षा लिइरहेका विद्यार्थीहरूको आर्थिक बोझ कम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
सर्वाधिक छात्रवृत्ति चिकित्सा (Medical) क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले पाएका छन्। अन्य विवरण यस प्रकार छ:
चिकित्सा (Medical) – ३२ जना
सूचना प्रविधि (IT)- २२ जना
इन्जिनियरिङ (Engineering) – ७ जना
कृषि/वन (Agri/Forestry) – ७ जना
अन्य प्राविधिक विषय – ६ जना
जम्मा – ७४ जना
गाउँपालिका प्रशासनका अनुसार, स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने र न्यून आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच सुनिश्चित गर्न यो कदम चालिएको हो।
कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाले भनिन्, “प्राविधिक शिक्षा महँगो हुने भएकाले विद्यार्थी र अभिभावकलाई थोरै भए पनि राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”
उहाँका अनुसार, यस कार्यक्रमले आगामी दिनमा गाउँपालिकाको शैक्षिक विकास र प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता बढाउने विश्वास गरिएको छ। प्रत्येक वर्ष पालिकाको नीति तथा कार्यक्रमअनुसार उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
शिक्षा शाखाले दिएको जानकारी अनुसार, प्रत्येक विद्यार्थीलाई १२ हजार रुपैयाँ दरले छात्रवृत्ति वितरण गरिएको छ। यसरी ७४ विद्यार्थीलाई ८ लाख ८८ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ।
















